जेठ १७, विराटनगर । प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम यही जेठ २२ गते ल्याउने भएको छ । बिहीवार सा“झ बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम जेठ २२ गते अपराह्न ३ बजे प्रदेशसभामा पेश गर्नेगरी प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहाङलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रदेशको प्रथम आवधिक योजना २०७६–२०८१ को अवधारणा पत्रका आधारमा तयार पारिएको प्रवक्ता कार्कीले बताए । सोहि अवधारण पत्रका आधारमा नीति तथा कार्यक्रम, बजेट र आगामी पा“च वर्षको योजना तयार गरिने उनले बताए ।
त्यस्तै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने सम्बन्धमा बनेको विधेयक निर्माण आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ । उक्त विधेयक बनेपछि विभिन्न स्वायत्त संस्था र निकायहरु गठन गर्ने बाटो खुल्ने मन्त्री कार्कीले बताए ।
स्वायत्त निकायलाई छाता ऐनको तयारी सरकारले प्रदेशका मन्त्रालय अन्तर्गत आवश्यक पर्ने स्वायत्त निकाय गठन गर्न छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश–१ मा ‘स्वायत्त संस्था तथा निकाय गठन गर्ने सम्बन्धमा बनेको विधेयक’ निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले विधेयक निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई अनुमति दिने निर्णय भएको बताए । उक्त विधेयक प्रदेशसभाबाट पारित भएर ऐन बने प्रदेश सरकारलाई आमसञ्चार प्रतिष्ठान, पर्यटन प्रतिष्ठान जस्ता विभिन्न स्वायत्त निकायहरू गठन गर्न सहज हुनेछ । प्रवक्ता कार्कीले अलग अलग ऐन बनाएर जाँदा कुन ऐन पहिले बनाउने वा नबनाउने भन्ने हुने भएकोले छाता ऐन निर्माणको तयारी गरिएको बताए । त्यसैगरी सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रदेशको विद्यालय शिक्षालाई सुधार गर्न विद्यालय शिक्षा र शैक्षिक गुणस्तर निर्देशिका २०७६ लाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।