जेठ १७, धनगढी । आर्थिक सूचकांकमा सबैभन्दा पछाडी देखिएको सुदूरपश्चिम प्रदेशभित्र बेरोजगार युवाहरुको संख्या बढ्दै गएको पाइएको छ । प्रदेशको तेस्रो श्रमशक्ति सर्वेक्षणले प्रदेशभित्र ५९ हजार युवा बेरोजगार रहेको पछिल्लो तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभाग अन्तर्गत तथ्यांक कार्यालय महेन्द्रनगर कञ्चनपुरले २०७४ असारदेखि २०७५ जेठ दोस्रो सातासम्म १५ वर्षभन्दा बढी उमेर समूहका युवा उक्त संख्यामा बेरोजगार देखिएको तथ्यांक सार्वजनिक गरेको हो ।
कार्यालयले अन्तरराष्ट्रिय श्रम संगठनले श्रम तथ्यांक विज्ञहरुको १९ औं सम्मेलनबाट पारित श्रम तथ्यांक सम्बन्धी अवधारणाअनुसार प्रदेशभित्रको श्रमशक्ति सर्वेक्षणको तेस्रो नतिजा धनगढीमा सार्वजनिक गरेको छ । यो उमेर समूहको कुल १८ लाख ८३ हजारमध्ये २ लाख ९४ हजार पुरुष तथा १ लाख ६१ हजार महिला गरी चारलाख ५५ हजार रोजगारीको क्षेत्रमा कार्यरत रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।
रोजगारीमा रहेको जनसंख्यामध्ये ६८ प्रतिशत शहरमा तथा ३२ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ । ४० हजार शहरी क्षेत्र र १९ हजार जनसंख्या ग्रामीण भेगमा बेरोजगार रहेको तथ्यांक कार्यालय महेन्द्रनगरले जनाएको छ । श्रमशक्ति सहभागिता दर यो प्रदेशको २७ दशमलव ३ प्रतिशत रहेको छ । पुरुष ४५ दशमलव ६ तथा महिला १५ दशमलव ७ प्रतिशत श्रमशक्ति सहभागिता प्रतिशत देखिएको तथ्यांक कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख गोविन्द न्यौपानेले बताए ।
प्रदेशअनुसार श्रमशक्ति सहभागिता दर सबैभन्दा बढी ४७ दशमलव १ प्रतिशत प्रदेश नम्बर ३ मा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७ दशमलव ३ प्रतिशत रहेको छ । सुदूरपश्चिममा मुख्य काममा अक्सर काम गर्ने समय हप्तामा ४३ घण्टा रहेकोमा पुरुषको ४७ र महिलाको ३७ घण्टा रहेको पाइएको छ ।
त्यस्तै तलब ज्याला प्राप्त गर्नेहरुको प्रदेशभित्र औसत मासिक आम्दानी १६ हजार ३५६ रहेकोमा पुरुषको १७ हजार ४४२ तथा महिलाको १३ हजार ५८३ रहेको शुक्रवार राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्यांक विभागले आयोजना गरेको नेपाल श्रमशक्ति सर्वेक्षण तेस्रो प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा सह–आयोजक तथ्यांक कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । यो प्रदेशभित्र औपचारिक रुपमा १४ दशमलव ८ तथा अनौपचारिक रुपमा रोजगारीमा संलग्नता ८५ दशमलव २ प्रतिशत रहेको प्रमुख न्यौपानेले जानकारी गराए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।