भक्तबहादुर शाही
नेपालगञ्ज । नेपालगञ्जको राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको करीब साढे १ वर्ष बितेको छ । तर, पाइप खरीदमा अनियमितता भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोजना निर्माणको काम शुरू हुनै अलमल भएको छ ।
नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख इन्जिनीयर आशीष कार्कीले अख्तियारबाट क्लिन चिट आइसकेको जानकारी दिए । उनले अब आयोजनाको काम अघि बढ्ने दाबी गरे । संस्थानले राप्ती नदीको पानी तानेर नेपालगञ्ज ल्याउने योजना बनाएको छ ।
नेपालगञ्ज र बुटवलबाट रू. २५/२५ करोडको पाइप खरीद गरेको देखाइए पनि भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगञ्ज भन्सारबाट रू. १२ करोड र भैरहवा भन्सारबाट रू. १३ करोडको सामान आयात गरिएको पाइएको थियो । आयोजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा पाइप तथा फिटिङ सामान खरीद गर्न रू. २८ करोड ४८ लाख ६३ हजार विनियोजन गरिएको थियो
‘सहायक लाइनलाई सुर्खेतरोडमा जोडेर नेपालगञ्ज उपमहानगरपालिका– २०, मनिकापुरमा पानी वितरण गर्ने योजना छ,’ कार्कीले भने । १६ किलोमिटर मुख्य पाइप लाइनबाट संस्थानको मुख्य टंकीमा पानी ल्याउने योजना रहेको संस्थानले जानकारी दिएको छ ।
गत आवको अन्त्यतिर आयोजना निर्माणका लागि हिराचन मल्ल कन्स्ट्रक्शनसँग सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २ करोड २५ लाख रुपैयाँमा सम्झौता भएको ११ महीनाभित्र निर्माण सक्ने जिम्मेवारी पाएको थियो । तर, अनियमितताको उजुरीपछि काम शुरू हुन ससक्दा लक्षित निर्माण अवधि गुज्रिसकेको छ ।
संस्थाले आयोजनाबाट नेपालगञ्जका २८ हजार २०४ घरधूरीलाई पानी वितरण गर्ने योजना बनाएको छ । दैनिक साढे दुई करोड लिटर पानी नेपालगञ्ज ल्याइने बताइएको छ । सम्पवेल प्रविधि सफल भएमात्र वर्षभरि नै राप्ती नदीको पानी खान योग्य हुने संस्थानले जानकारी दिएको छ । यो प्रविधि सफल नभए नदीको पानी सीधै पाइपमार्फत नेपालगञ्ज ल्याउने योजना छ । यसो गर्दा वर्षायाममा पानी पिउन योग्य नहुने र अर्को विकल्प अपनाइने संस्थानको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।