बुद्धिमान पुन
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारी लागू गरेको छ । जिल्लामै पहिलो पटक सो गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । गाउँपालिकाले पाठ्यक्रमको नाम ‘हाम्रो त्रिवेणी’ राखेको छ ।
गाउँपालिकाले पाठ्यक्रम मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ । आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तक नै लागू गर्ने बताइएको छ । पाठ्यक्रममा कलासंस्कृति, मौलिक संस्कार लगायतका क्षेत्रहरू समेटिएका छन् । पाठ्यक्रमको पाठ्यभार १०० पूर्णांक छ । पाठ्यक्रम गाउँपालिकाका ३६ ओटै विद्यालयमा लागू गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए ।
उनका अनुसार गाउँपालिकाका २९ ओटा सामुदायिक विद्यालय र ७ ओटा निजी विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म पढाइ हुनेछ । उनले सबै क्षेत्र र निकायसँग छलफल तथा समन्वय गरेर पाठ्यक्रम तयार गरिएको बताए । ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने मूल नाराका साथ गाउँपालिकाले स्थानीय स्रोतसाधनको प्रयोग गरेर पाठ्यक्रम तयार गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘अहिले गाउँपालिकाका सबै विद्यालयमा कालोपाटी विस्थापन भएको छ भने विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ ।’ सबै विद्यालयमा बालविकास केन्द्र सञ्चालन लगायत काम गरिएको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।