हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा वनकरिया समुदायले होमस्टे सञ्चालन गर्ने भएका छन् । वनकरिया समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक क्रियाकलाप तथा जीवनशैली प्रदर्शनीका लागि होमस्टे सञ्चालन गर्न लागिएको हो । यसका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ अनुदान दिएको छ ।
लोपोन्मुख जाति वनकरियाको आवास निर्माणका लागि यसअघि पटक पटक बजेट विनियोजन हुँदै आएको थियो । तर उक्त समुदायको आफ्नै स्वामित्वमा जग्गाधनी प्रमाणपूर्जा नभएकाले सरकारी सुविधाको आवास बन्न सकेको थिएन ।
वनकरिया समुदायमा होमस्टे निर्माणका लागि गाउँपालिकाको अनुदान अपुग भएको मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष ध्रुव खड्काले बताए । त्यसैले लागत इस्टिमेट गर्न प्राविधिकलाई जिम्मेवारी दिइएको उनको भनाइ छ ।
आगामी असारदेखि नै होमस्टे सञ्चालनमा ल्याउन काम भइरहेको वनकरिया समुदायको होमस्टेकी सचिव सन्तोषी वनकरियाले बताइन् । वनकरिया समुदायबाट हालसम्म प्रवेशिका (एसईई) परीक्षा उत्तीर्ण गर्ने दुईजनामध्ये उनी एक हुन् । होमस्टेका लागि फर्निचर, वायरिङ, शौचालय र बाथरूम निर्माण भइरहेको उनले जानकारी दिइन् ।
हेटौंडाबाट पूर्व–पश्चिम राजमार्गको १३ किमी पश्चिम सान्नानीटारसम्म कालोपत्र सडक र राप्तीखोला पारि ४ किमी कच्ची सडकको यात्रा गरेपछि वनकरिया बस्ती पुग्न सकिन्छ ।
खोलामा माछा मार्ने र कन्दमूल खाएर जीविका टार्ने वनकरियालाई तत्कालीन सरकारका गृहमन्त्री कमल थापाले नेपाली नागरिकता दिलाएका थिए । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गरिरहेका वनकरियालाई सरकारले सामाजिक सुरक्षाबापतको भत्ता भने दिइरहेको छ । २०६१ सालसम्म नेपाली नागरिकताको अभावमा उनीहरूले राज्यको कुनै पनि सुविधा पाउन सकेका थिएनन् ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वनकरिया बस्तीमा एक रात वास बसेपछि वनकरिया समुदायको आफ्ना समस्या प्रम भट्टराईसमक्ष राखेका थिए । आहिले पनि वनकरिया समुदायमा खानेपानी, विद्युत् र यातायातको सुविधा छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।