भरतपुर कारागारमा सबैभन्दा बढी कैदीबन्दी लागुऔषधका

Share News

जेठ २२, चितवन(अस) । पछिल्लो समय चितवनमा लागुऔषध कारोबार गर्नेहरुको संख्या बढ्दै गएको छ । यहाँ सबैभन्दा बढी अपराधका घटनामा लागुऔषध ओसारपसार रहेको छ । जसका कारण कारागारमा कैदीबन्दीको संख्या पनि बढ्दै गएको छ ।

जिल्ला कारागार, भरतपुरले दिएको जानकारी अनुसार गत बर्ष २०७५ साउन सम्म १२९ जना रहेकोमा चालु आर्थिक बर्ष ०७५ /०७६ जेठ २० सम्म यो संख्या बढेर १७१ पुगेको छ । त्यसैगरी दोस्रो अपराधिक घटनामा सबै भन्दा बढी जवरजस्ती करणीका कैदीबन्दी छन् । गतबर्ष साउनसम्म यो संख्या १५३ रहेपनि चालु आर्थिक बर्षको जेठ २० सम्म यो संख्या बढेर १५८ पुगेको छ ।

उक्त कार्यालयका अनुसार गैंडाको खाग चोरी शिकारी गर्नेको संख्यामा केही कमी आएको भएपनि उल्लेखनीय सुधार भने आउन सकेको छैन । यसबर्ष हालसम्म कारागारमा ९६ जनाले गैंडाको खाग चोरी शिकारीको अभियोगमा कैदभुक्तान गरेका छन् । गत बर्ष १०८ जना खाग चोरी शिकारीको अभियोगमा कैदीबन्दी थिए । यसैगरी कर्तव्य ज्यान, मानव वेचविखन, सार्वजनिक अपराध बहुविवाहसमेत गरी ७३८ जनाले कैद भुक्तान गरिरहेका छन् ।

जेलर कमल प्रसाद काफ्लेका अनुसार वेरोजगारी, सामाजिक अवस्था, पारिवारिक वातावरणका कारण यस्ता प्रकारका अपराधमा बृद्धि भएको हो । ‘अहिले समाजमा व्याप्त विकृति विसंगति छ’, उनले भने, ‘जसका कारण युवावर्गमा लागुऔषध प्रयोग तथा ओसारपसार बढेको छ ।’ जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्ल चितवन देशकै केन्द्रविन्दु भएकोले यस्ता प्रकारका घटनामा बृद्धि भएको बताउँछन् ।

जसका कारण लागुपदार्थ ओसारपसार गर्नेको संख्यामा बृद्धि भएको हो । बिशेष गरी युवाहरुमा हुने नैराश्यता, अभिभावक र छोराछोरीबीचको दुरी बढ्न जांँदा पनि लागुऔषध प्रयोग कर्ता बढ्ने गरेका छन् । ‘जति यसका प्रयोगकर्ता बढ्छन् त्यति यसका अभियुक्तहरु पनि बढ्छन् र समातिन्छन् पनि’, उनले भने । उनका अनुसार चितवनमा गांँजा, चरेस, ब्राउन सुगर ओसारपसारका घटना बढी हुने गरेका छन् । यसैगरी जवरजस्ती करणी अपराधका घटनामासमेत बृद्धि भएको छ ।

पारिवारिक विचलन, सचेतनाको कमी, तथा सामाजिक परिवेश कारण पछिल्लो समय यस प्रकारका अपराधहरु बढेका हुन् । प्रहरी उपरीक्षक मल्लका अनुसार सामाजिक विकृति , सामाजिक सञ्जाल बढ्दो प्रयोगका कारण यस प्रकारका घटनामा बृद्धि भएको हो । ‘समाजमा जति अपराधका घटना बढ्छन्, अपराधीको संख्या पनि उत्तिकै बढ्छ’, उनले भने । विगतमा कतिपय अपराधमा संलग्न व्यक्तिहरु यस्ता घटनामा उम्कने गरेको भएपनि हाल प्रहरी बिशेष संयन्त्रका कारण कमै मात्रामा उम्कने गरेको बताए ।

विगतमा भन्दा हाल कानुनहरु शंसोधन भएका कारण र जोसुकैलाई अपराध अनुसार कैद भुक्तान एवं जरीवाना अनिवार्य गरिएको कारण कैदीबन्दीको संख्या बृद्धि भएको उनको भनाई छ । विगतका बर्षमा कैदीबन्दीहरु धरौटीमा र बिशेष अवसरमा कैद भुक्तान अगावै छुट्ने गरेपनि अहिले यो अवस्था नरहेको उनले बताए । २८० जनाको अटाउने कारागारको क्षमता भएपनि अहिले ७३८ जनाले कैद भुक्तान गरिरहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।