सन्तोष पुर्कुटी
ताप्लेजुङ ।मालपोत कार्यालय, ताप्लेजुङमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरू भएको छ । नव निर्मित भवनमा मंगलवार कार्यालय स्थानान्तरण भएसँगै अनलाइन सेवा सुचारु गरिएको छ । ताप्लेजुङ यस किसिमको सेवा प्रदान गर्ने ६२औं मालपोत कार्यालय भएको छ ।
देशभरका १३१ मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताए । महानिर्देशक दुवाडीका अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन यो प्रणाली लागू गरेको हो ।
यो प्रणालीमा हरेक दिन मुलुकभर भएको जग्गाको कारोबार, कर संकलन लगायतबारे विभाग वा मन्त्रालयबाट जानकारी पाउन सकिन्छ । राजस्व संकलनलाई यसले प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यस्तै देशभरिका जग्गा तथा जग्गाधनीको विवरण विभागको एउटै सर्भरमा केन्द्रीकृत रूपमा भण्डारण भई विभाग तथा सरोकारवालालाई आवश्यक पर्ने तथ्यांक र विवरण सजिलैसँग प्राप्त गर्न सकिने समेत महानिर्देशक दुवाडीले बताए ।
घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा दिने र लिने साक्षीहरूको औंठा छाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणका माध्यमबाट प्रणालीमा समावेश गर्ने तथा सो घरजग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था छ । घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा निवेदन र लिखत स्वीकृत हुनुभन्दा अगावै जग्गाधनीलाई एसएमएस र ईमेलमार्फत नोटिफिकेशन जाने व्यवस्था रहेको हुँदा किर्ते कारोबार शून्य हुने मालपोत कार्यालयको दाबी छ । यसैबीच मालपोत कार्यालय ताप्लेजुङले मंगलवारदेखि नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । यसअघि भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिँदै आएको थियो । नवनिर्मित भवनको केही समयपछि उद्घाटन गरिने कार्यालयले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।