चैते धान नष्ट गर्ने तरखरमा कृषक

Share News
चितवन (अस) । चितवनको राप्ती नगरपालिका–६ मा चैते धानमा मरुवा (नेक ब्लाष्ट) रोगको प्रकोप बढेपछि किसानले झुल्न लागेको धान नै नष्ट गर्ने तयारी गरेका छन् । विभिन्न औषधि, विषादीको प्रयोग गर्दा समेत रोग नियन्त्रण नभएपछि कृषकले बाध्य भएर धान नष्ट गर्न थालेका हुन् । विशेषगरी हर्दिनाथ–१ धानमा यो रोगको प्रकोप फैलिएको हो । अन्य स्थानमा पनि रोगको प्रकोप बढ्ने देखिएपछि धान नै नष्ट गर्न शुरू गरिएको किसानको भनाइ छ । राप्ती–६ का किसान धर्मराज कँडेलले आफूले लगाएको १० कट्ठाको धान रोगले सबै सखाप पारेको बताए । जेठको पहिलो सातामा करीब ४०० बिघामा प्रकोप फैलिए पनि हाल ९०० बिघामा रोग फैलिएको किसानको अनुमान छ । स्थानीय निकाय र कृषि ज्ञान केन्द्रबाट रोग नियन्त्रणको बारेमा पटक–पटक प्रयास तथा छलफल भए पनि नियन्त्रण गर्न सकिएको छैन । कृषि ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले यो रोग अघिल्ला वर्षमा पनि देखिँदै आएको र यस वर्ष झन् बढी मात्रामा देखिएको बताए । किसानलाई चैते धानको पटक–पटक बीमा गर्न आग्रह गरे पनि कसैले बीमा गर्न नमान्दा नोक्सानी बेहोर्नु परेको उनको भनाई छ । ‘चैते धानको लागि उत्पादन मूल्यमा सरकार ७५ प्रतिशत प्रिमियम दिन्छ, तर किसानले मानेनन्,’ उनले भने । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले कृषि ज्ञान केन्द्र र नगरपालिकाबीच तथ्यांक लिने, रोगको रोकथामका लागि औषधि वितरण र छलफलसमेत भएको बताइन् । कृषकलाई यो जातको धान नलगाउन अनुरोध गर्दा किसानले नमानेको उनको भनाइ छ । राहतको लागि नगरपालिकाबाट केही व्यवस्थापन गर्न नसकिए पनि प्रदेशको कृषि मन्त्रालयमा राहतबारे छलफल भइरहेको बरालले जानकारी दिइन् । चैते धानको पकड क्षेत्रको रूपमा पूर्वी चितवनको राप्ती नगरपालिका, खैरहनी नगरपालिका पर्दछन् । खैरहनी नगरपालिकाको सो क्षेत्रमा मात्रै १ हजार २०० बिघामा यो जातको धान लगाइएकोमा ९० प्रतिशतभन्दा बढी नोक्सान भएको अनुमान छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।