बुद्धिमान पुन

सल्यान । सल्यानमा कृषि सडक निर्माणका लागि चालू आर्थिक वर्षमा ३ करोड ४७ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा उपभोक्ता र सहकारी समूहले जिल्लामा १२ ओटा ग्रामीण कृषि सडक निर्माण तथा मर्मत गरेका हुन् ।
प्रदेश सरकारको २ करोड ९० लाख रुपैयाँ अनुदान र स्थानीयको लागत सहभागिता ५७ लाख ७८ हजार खर्च गरेर कृषि सडक निर्माण तथा मर्मत गरिएको कृषि ज्ञान केन्द्र रुकुम पश्चिम, कार्यक्षेत्र सल्यानले जानकारी दिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन गरिएको कृषि सामग्री बजारसम्म लैजान कृषि सडकले सहयोग गर्ने कार्यालयका प्राविधिक सहायक रेशमकुमार बस्नेतले बताए ।
उनले आधाभन्दा बढी ग्रामीण कृषि सडक आयोजना निर्माण सकिएको बताए । काम सम्पन्न गरेका उपभोक्ता समिति, सहकारी र समूह रकम भुक्तानीको प्रक्रियामा रहेको उनले जानकारी दिए ।
सडक निर्माण भएपछि यहाँ उत्पादित कृषिजन्य वस्तु, सुन्तला, अदुवा, बेसार, खसीबोका निर्यात गर्न सजिलो भएको कृषकको भनाइ छ । ६ मिटर चौडाइ भएको फराकिलो सडक गाउँमा निर्माण भएपछि कृषकलाई सहज भएको कपुरकोट गाउँपालिका–१, गैरिवाङका किसान धनविर रानाले बताए । बेमौषमी तरकारी खेती गर्ने करीब २५० भन्दा बढी घरधूरीका किसानलाई यस सडकले प्रत्यक्ष लाभ पुर्याएको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।