विराटनगर (अस) । प्रदेश–१ ले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीवार प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकतामा राखिएको छ । साथै विराटनगरको विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउनेदेखि धरान–मूलघाट सुरुङ मार्ग निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, न्यूनतम एक सय बिघा जमीनमा जग्गाधनी किसानलाई कृषि कम्पनीमा आबद्ध गरी प्रदेश सरकार समेतको लगानीमा एक नमूना कृषि परियोजना सञ्चालन गरिने योजना छ । ५ वर्षभित्रमा प्रदेश मासु, अण्डा र माछामा आत्मनिर्भर बन्ने, एक गाउँपालिका एक अग्र्यानिक फार्म सञ्चालन गरिने लगायतका योजना समावेश छन् । कोशी टप्पु क्षेत्रमा नदीले छोडेको झण्डै ५ हजार बिघा सार्वजनिक जग्गालाई बस्तीरहित कृषि भूमिको रूपमा विकास गरी व्यावसायिक खेती गर्न लिजमा उपलब्ध गराउने भएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा, भोजपुरलगायतका उच्च पहाडी क्षेत्रमा पर्यटकका लागि लक्षित गर्दै कोदो, फापर, लट्टे, कागुने, चिनो, जौ र उवा जस्ता सुपर हिमालयन फूडको उत्पादनमा सरकारले प्रोत्साहन गर्ने बताइएको छ ।
पर्यटक र पर्यटनका सन्दर्भमा सरकारले भ्रमण वर्ष २०२० लाई सार्थक बनाउने बताइएको छ । प्रदेशमा ५ लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ । आध्यात्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा सुनसरीको चतरा क्षेत्रलाई कुम्भकर्ण क्षेत्र घोषणा गर्दै आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ ।
गतवर्षको योजनामा रहेको मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमलाई निरन्तरता दिएको छ । राजधानी विराटनगरमा विशेष आर्थिक क्षेत्र सेज स्थापनाका लागि संघीय सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै प्रारम्भिक थालनी गर्ने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुराना कार्यक्रमलाई समेटेर ल्याइएको र नारै नारा भएको पपुलिस्ट कार्यक्रमको रूपमा टिप्पणी गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।