बजार निर्माताको आवेदन माग

Share News
काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले लामो अवधिका सरकारी ऋणपत्रको बजार निर्माताको नयाँ इजाजतपत्र र नवीकरणका लागि आवेदन माग गरेको छ । बजार निर्माता कम्पनीहरूले यस्ता ऋणपत्र खरीद र विक्री सहज बनाउने गर्छन् । केन्द्रीय बैंकको राष्ट्रऋण व्यवस्थापन विभागले मंगलवार सार्वजनिक सूचना जारी गर्दै वित्तीय कारोबार गर्दै आएका संस्थाहरूबाट आवेदन मागेको होे । लामो अवधिका राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक र दोस्रो बजार तथा वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबारका लागि राष्ट्र बैंकले आवेदन खुला गरेको हो । इजाजतपत्र लिन इच्छुक नयाँ संस्थाले पछिल्लो आर्थिक वर्षको वित्तीय प्रतिवेदन र वित्तीय कारोबारका लागि पाएको इजाजतपत्रको प्रतिलिपि लगायत कागजातसहित विभागमा निवेदन दिन सक्नेछन् । इजाजतपत्र नवीकरण गर्न प्रबन्धपत्र र नियमावलीको कागजात, यसअघि पाएको बजार निर्माणको इजाजतपत्रको सक्कल पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले अबदेखि बजार निर्माताको इजाजतपत्रको समय सकिनुअघि नै नवीकरणका लागि निवेदन दिन निर्देशन दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।