व्यवस्थित पशु हाटबजारका लागि प्रदेश सरकारको अनुदान

Share News
दिनेश गजमेर धरान । धरानस्थित कृषिउपज बजारस्थलमा रहेको पशु हाटबजारको व्यवस्थापनका लागि प्रदेश सरकारले अनुदान सहयोग गरेको छ । प्रदेश सरकारले यसका लागि ४९ लाख ९३ हजार ९६२ रुपैयाँ उपलब्ध गराएको छ । पशु हाटबजार निर्माण तथा सुधारका लागि धरान उपमहानगरपालिकाले कृषिउपज बजार स्थलको तर्फबाट प्रस्ताव गरेको थियो । उपमहानगरपालिकाको प्रस्ताव पारित भएपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं १ बीच अनुदान सम्झौता भएको हो । निर्देशनालयको ७५ प्रतिशत अनुदानसहित धरान उपमहानगरपालिकाको २५ प्रतिशत लगानीमा पशु हाटबजार व्यवस्थित गर्न लागिएको बताइएको छ । ६६ लाख ५८ हजार ६१६ रुपैयाँ अनुमानित लागत रहेको पशु हाटबजार निर्माण तथा सुधारका लागि धरान उपमहानगरपालिकाले १६ लाख ६४ हजार ६५४ रुपैयाँ बेहोर्ने भएको छ । सम्झौताअनुसार धरान उपमहानगरपालिकाले १ वर्षभित्र पशु हाटबजार निर्माण तथा सुधारको काम सम्पन्न गरिसक्नुपर्नेछ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी सञ्चालन, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. लेखराज दाहाल र धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीबीच गत शुक्रवार सम्झौता भएको हो । धरानस्थित कृषि उपज बजार स्थलमा कोशी पहाडी जिल्लाका अधिकांश क्षेत्रबाट पशु विक्रीका लागि ल्याउने गरिन्छ । देशका अन्य जिल्ला तथा भारतमा पनि बजारबाटै पशु निर्यात हुने गरेको छ । व्यवस्थित हाट बजार निर्माणपछि किसानहरूलाई पशु व्यवस्थापन गर्न सहज हुने बजारका व्यवस्थापक लक्ष्मण भट्टराईको भनाइ छ । उनका अनुसार पशु बजारलाई व्यवस्थित गर्न पशु राख्ने स्थान, गाडीमा लोड अनलोड गर्न मिल्ने गरिको व्यवस्थापन, कृषकहरूलाई वासस्थानको व्यवस्था, बिरामी पशुको उपचार गर्ने छुटै स्थान, खानेपानीको व्यवस्थासहितको हाट निर्माण हुने भएको छ । बजारमा पशु खरीदविक्रीका लागि प्रत्येक बिहीवार र शुक्रवार हाट लाग्ने गर्दछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।