दिनेश गजमेर
धरान । धरानमा दैनिक खानेपानीको अभाव हुने भएकाले डेंगीको महामारी नियन्त्रणमा आउन नसकेको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार प्रत्येक घरमा पानी जम्मा गरी राख्ने भएकाले त्यही पानीमा डेंगीको संक्रमण फैलाउने लामखुट्टे फैलिँदै गएको हो ।
प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्र राज डोटेलले प्रत्येक घरमा जम्मा गरेको पानी नफालिएसम्म लामखुट्टेको लार्भा नष्ट नहुने बताए । उनले भने, ‘घरमा राखेको पानी फाल्नै चाहँदैनौं, त्यो पानी नफालेसम्म लामखुट्टेको वृद्धि रोकिँदैन । यो कुरा स्थानीयलाई बुझाउन जरुरी छ ।’
विज्ञहरूले डेंगी नियन्त्रणका लागि धरानलाई एक दिन पानीरहित सुक्खा बनाउन सुझाव दिएका छन् । लामखुट्टेको जीवन चक्रलाई बीचमा नै तोड्न नसकेसम्म डेंगी नियन्त्रणमा नआउने विज्ञहरू बताउँछन् । डोटेलले एक दिन खाना पकाउने र पिउने पानीबाहेक घरमा भएको सबै पानी फाल्नुपर्ने बताए । उनका अनुसार लामखुट्टेलाई अण्डा पार्न, अण्डाबाट लार्भा र प्यूँपा बन्न २ साता लाग्छ । हरेक ७ दिनमा पानी फाल्ने हो भने डेंगीको महामारी आफै नियन्त्रणमा आउने उनले बताए ।
गत वैशाख ३१ गतेदेखि धरानमा डेंगीको महामारी शुरू भएको थियो । स्थानीय बासिन्दाले डेंगी नियन्त्रणका अभियान सञ्चालन गरे पनि बिरामीको संख्या बढ्को बढ्यै छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करीब १ हजार संक्रमितको रगत परीक्षण गर्दा अहिलेसम्म ५०७ जनालाई डेंगीको संक्रमण देखिसकेको छ ।
डेंगी संकटग्रस्त क्षेत्र घोषणा गरिएको धरानको वडा नम्बर ८ र १५ मा दैनिकजसो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै चलेको छ । प्रतिष्ठानबाट खटिएका र्यापिड रेन्सपोन्स टिमले प्रत्येक वडाको घर, ग्यारेज, पानी धेरै खपत गर्ने स्थानको निरीक्षण गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।