विराटनगर (अस) । भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई कारबाही गरिने भएपछि जोगबनी नाका खुलेको छ । एसएसबी र भन्सार एजेन्टबीच भएको छलफलपछि नाका खुलेको हो । एसएसबीले कुटपिट गरेको भन्दै मालवस्तु जाँचपासमा असहयोग गरेर भारतीय भन्सार एजेन्ट आन्दोलित भएका थिए ।
जोगबनी भन्सारका एजेन्ट र एसएसबीबीचको विवाद मिलाउन भारतीय प्रहरीले अग्रसरता देखाए पनि सफल भएको थिएन । नाका ठप्प हुँदा भारत तथा तेस्रो मुलुकबाट मालसामान बोकेर आएका गाडी भारतमै रोकिएका थिए । यसले विराटनगर भन्सार कार्यालयको राजस्व पनि प्रभावित भएको भन्सारका सूचना अधिकारी मणिराम पौडेलले बताए ।
भारत तथा तेस्रो मुलुकबाट सामान लिएर नेपाल छिरेका मालवाहक गाडी सामान झारिसकेपछि फर्कने क्रममा जोगबनी नाकाको प्रयोग गर्न एसएसबीले रोक लगाएको हो । जोगबनी भन्सारका एजेन्टहरू भने त्यही नाकाको प्रयोग गर्न पाउनुपर्ने पक्षमा छन् । बिहानैदेखि नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ जाने आउने २ सयभन्दा बढी मालवाहक सवारीसाधन अलपत्र परेका थिए । आयात–निर्यातका लागि जोगबनी नाका प्रयोग गर्दा ठूलो जाम भएको भन्दै एसएसबीले माथिकै आदेशबाट कडाइ गर्नुपरेको जिकीर गरेको नेपाल प्रहरीले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।