हेटौंडा । हेटौंडास्थित पशु आहार उत्पादन उद्योग पुनः सञ्चालन भएको ३ वर्ष पूरा भएको छ । तर, कच्चापदार्थको मूल्यमा एकरूपता नहुँदा उद्योगले वार्षिक करीब ५० लाख रुपैयाँ घाटा बेहोर्दै आएको उद्योग प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।
उद्योगले हाल दैनिक करीब ८ हजार किलो दाना उत्पादन गर्दै आएको छ । प्रायः कच्चापदार्थ भारतबाट किन्ने गरिएको काफ्लेले बताए । भारतबाट आयात गरिने कच्चापदार्थको मूल्य गत वर्ष २४ रुपैयाँ प्रतिकेजी रहेकोमा हाल २८ रुपैयाँ नाघेको छ । तर, उत्पादित सामानको मूल्य बढाउन सरकारी निर्णय नै कुर्नुपर्ने बाध्यता रहेकोले उद्योग घाटामा रहेको काफ्लेले जानकारी दिए ।
तत्कालीन पशुआहार उत्पादन विकास समितिको नाममा स्थापना भएको यो उद्योग २०७२ सालमा दुग्ध विकास संस्थान (डीडीसी) लाई हस्तान्तरण गरी उद्योग पुनः सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो । मन्त्रिपरिषद् निर्णयअनुसार समिति विघटन गरी २५ वर्षका लागि संस्थानलाई हस्तान्तरण गरिएको हो ।
उत्पादित पशु आहार दुग्ध उत्पादक किसानलाई उधारोमा उपलब्ध गराइने र संस्थानले किसानलाई तिर्नुपर्ने रकमबाट कट्टा गरी भुक्तानी गरिने व्यवस्था छ । २०२२ सालमा तत्कालीन सरकारले हेटौंडामा क्याटल फिड प्लान्टका नाममा पाँचतारा मार्का दाना उद्योग शुरू गरेको थियो ।
प्रतिघण्टा दुई मेट्रिक टन दाना उत्पादन गर्ने उद्योगबाट पछिल्लो समय दैनिक सात मेट्रिक टनमात्र उत्पादन हुने गरेको थियो । उत्पादनका मेशिन निकै पुरानो भएको र उधारो उठ्न नसकेपछि सरकारले बाध्य भएर समिति विघटन गरेको थियो ।
करीब सात बिघा क्षेत्रमा फैलिएको उद्योगले उत्पादन गरेको पशुआहार छिमेकी जिल्ला बारा, पर्सा, चितवन र काठमाडौंसम्म पुग्ने गरेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा चिनियाँ लगानीमा स्थापना भएको दाना उद्योगको उत्पादनसँग सरकारी उद्योगले प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।