बालबालिकाले बनाए १ करोड ५० लाखको योजना

Share News

असार २, दैलेख । गुराँस गाउँपालिकाका बालबालिकाले रू. १ करोड ५० लाखको वार्षिक योजना तयार पारेका छन् । गाउँपालिका भित्रका सबै बालबालिकाको आवाजलाई समेट्दै उक्त योजना तयार पारिएको हो । गुराँस गाउपालिकाले आयोजना गरेको बाल भेलामा बालबालिकाले आफ्नो योजना आफैं बनाएका हुन् । बाल उद्यान, विद्यालय तथा समुदायमा सूचना प्रविधिको विकास, बालमैत्री शौचालय, घेरबार, बालमैत्री खानेपानी योजना निर्माण लगायतका योजनाहरु बालबालिकाको प्राथमिकतामा रहेका छन् । बालबालिकाको उक्त कार्यले स्थानीय तहको नीति, योजना र कार्यक्रमलाई सहयोग पुग्ने बताइएको छ ।

बालबालिकाको लागि योजना निर्माण गर्दा होस् वा योजना कार्यान्वयनमा बालबालिकाको सहभागिता गर्नुपर्ने गाउँ बाल सञ्जालकी अध्यक्ष कल्पना रामजाली मगरले बताइन् । ‘बालबालिकाका आवश्यकताहरु बालबालिकालाई नै जानकारी हुन्छ,’ अध्यक्ष रामजालीले भनिन्, ‘बालविवाह, छाउपडी, बालश्रम र छोरा छोरी बीच विभेद लगायतका समस्याहरु अहिले पनि समाजमा कायम रहेकाले यस्ता सामाजिक विकृति न्यूनिकरणका लागि स्थानीय तहले लगानी गर्नुपर्ने छ ।’

गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिका बालबालिकाको क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । उनका अनुसार गाउँपालिकाले बालअधिकारमा आधारित योजना बनाउदै छ । अध्यक्ष ओलीले भने, ‘जसले गर्दा बालबालिकामा लगानी गर्ने वातावरण तयार हुँदैछ ।’ बालबालिकाको जीवन र विकासलाई दिगो बनाउन बालमैत्री नीति, बालमैत्री संरचना निर्माण लगायतका कार्य गाउँपालिकाले गर्दै आएको उनको भनाइ छ ।

स्थानीय तहको योजना बनाउँदा सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने स्थानीय शासन सञ्चालन ऐन, २०७४ मा व्यवस्था रहेको बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए ।

अन्तरराष्ट्रिय बाल अधिकार महासन्धी १९८९ को सिद्धान्तमा आधारित भई बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता जस्ता क्षेत्रमा केन्द्रित भई बालबालिकालाई शासन व्यवस्थाको प्रतिफल दिलाउन स्थानीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । ‘बाल अधिकारको विषयलाई स्थानीय तहको नीति, योजना, कार्यक्रम र कार्यपद्धतिमा समाहित गर्न आवश्यक भएको छ,’ संयोजक अधिकारीले भने, ‘स्थानीय सरकारले अपेक्षित उपलब्धि हासिल गर्न बालमैत्री तरिकाले योजना तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।