दूध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान, किसानको अपेक्षा अर्कै

Share News

असार २, दोलखा । प्रदेश–३ सरकारले दूध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिने भएको छ । प्रदेश–३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुंगेलले आइतवार आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्य मार्फत उक्त अनुदान घोषणा गरेका हुन् । दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले अनुदान दिन लागेको र यसका लागि रू. १२ करोड बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

दूध उत्पादनमा अनुदान दिने व्यवस्था मिलाइनु सकारात्मक भए पनि अहिलेको महंगीमा एक रुपैयाँ अनुदानले किसानलाई राहत नपुग्ने दोलखाका किसानहरुको भनाइ छ । दूधमा अनुदान दिनुभन्दा सहुलियत दरमा वस्तुलाई खुवाउने दाना उपलब्ध गराउने, पशु औषधिमा अनुदान दिने तथा दूध उत्पादकले उत्पादन गरेको दूधको उचित मूल्यमा खरीद गर्ने ग्यारेन्टी गरिदिए किसानलाई राहत हुने दोलखाका किसान रामबहादुर खत्रीले अभियान दैनिकलाई बताए ।

बजेट वक्तव्यमा चीनबाट उन्नत नश्लका गाई ल्याउन तथा गाई सम्बन्धी आवश्यक प्रविधि भित्र्याउन पनि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख छ । साथै निजी क्षेत्रको सहकार्यमा दोलखा जिल्लामा चौंरी प्रजनन् तथा स्रोत केन्द्र स्थापना गर्ने सरकारको योजना छ । रामेछाप, रसुवा, सिन्धुपाल्चोक तथा दोलखा जिल्लामा नमूना चौंरी प्रवर्द्धन कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले बताए ।

प्रदेश–३ का चितवन तथा काभ्रे जिल्ला दूध उत्पादनमा अग्रणी छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।