स्वदेश फर्किएर चप्पल उद्योग सञ्चालन

Share News

असार ३, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका क्रममा वि.सं. २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताएका ४३ वर्षीय उनले अहिले उक्त उद्योगबाट मासिक रू.४५ हजारभन्दा बढी कमाउन थालेका छन् ।

आफ्नै घरमा उद्योग सञ्चालन गरेपछि अहिले सबैको हौसलासमेत मिलेको विश्वकर्माको भनाइ छ । ‘उद्योगबाट घरमै राम्रो आम्दानी गर्न शुरु गरेको छु’, उनले भने, ‘आफन्तबाट टाढिएर विदेशमा पुगेर कमाउनुभन्दा घरैमा कमाउनु स्वर्गीय आनन्द हुँदोरहेछ ।’ ‘अहिले वास्तविक कमाइको अनुभूति भएको छ’, विश्वकर्माले भने, ‘उद्योगबाट उत्पादित चप्पल दिक्तेलबजारलगायत अन्य बजारमा विक्रीका लागि पठाउने गरेको छु ।’

छ महीना ‘ग्यारेण्टी’ भएको समृद्धि बहुआयामिक उद्योग नामको चप्पल रू. ९० देखि १५० सम्म थोक मूल्यमा विक्री गर्ने गरिएको उनले बताए । जिल्लाकै पर्यटकीयस्थल ‘रुपाकोट’, ऐतिहासिकस्थल ‘दिक्तेल’ र ‘साथी’ नामको ‘ब्राण्ड’ दिइएको चप्पल बजारमा पाइने अन्य चप्पलभन्दा सस्तो छ । आफूले उत्पादन गरेको चप्पल अन्य पालिकाहरुमा समेत पठाउने तयारी गरिएको विश्वकर्माले जानकारी दिए । करीब तीन महीनाअघि शुरु गरिएको उद्योगबाट अहिले दैनिक १५० जोरभन्दा बढी चप्पल उत्पादन हुने गरेको छ ।

विश्वकर्माका भाइ गंगाबहादुर विश्वकर्मासँगको सहकार्यमा रू.५ लाख लगानी गरेर सञ्चालन गरिएको चप्पल उद्योग गत आइतवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए । नगरप्रमुख रिजालले विश्वकर्माको मिहेनतले अरूलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘विश्वकर्मा दाजुभाइ आफ्नै क्षेत्रमा उद्योग सञ्चालन गरेर नगरपालिकामा उदाहरणीय बन्नुभएको छ’, उनले भने, ‘औद्योगिक क्षेत्रको विस्तार नै नगर समृद्धिको पूर्वाधार भएकाले नगरपालिकाका तर्फबाट सकेको सहयोग हुनेछ ।’ विश्वकर्माको चप्पल उद्योगलाई नमूना उद्योगका रुपमा विकास गर्नुपर्ने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष उपिनकुमार राईले बताए । यसका लागि नगरपालिकालगायतले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।