डेंगी परीक्षणमा ठगिँदै बिरामी

Share News
धरान । डेंगी रोग फैलिएको मौका छोपेर धरानका निजी अस्पताल तथा मेडिकलहरूले बिरामीलाई परीक्षण गर्दा महँगो शुल्क लिने गरेको पाइएको छ । करीब १ डलर पर्ने डेंगी किटको मूल्य नेपाली बजारमा २ सय रुपैयाँसम्म पर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरू बताउँछन् । तर, निजी मेडिकलले डेंगी किटको २ हजारदेखि ३६ सय रुपैयाँसम्म लिने गरेका छन् । सरकारले डेंगी बिरामीका लागि प्रतिष्ठानमा निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर, प्रतिष्ठानमा डेंगी किटको अभाव हुन थालेपछि बिरामी निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य भएका छन् । गत वैशाख ३१ गतेदेखि धरानमा शुरू भएको डेंगीको संक्रमण पछिल्लो समय दिनानुदिन बढ्दै गएको छ । एउटै किटले हुने ठाउँमा ३ ओटा किट प्रयोग गरेर महँगो मूल्य लिने गरेको प्रतिष्ठानका सहप्रवक्ता अशोर ऐरको भनाइ छ । प्रदेशका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले बढीमा ५ सय रुपैयाँ पर्ने किटलाई २० प्रतिशत नाफा राखेर मात्र परीक्षणको पैसा लिन पाउने बताए । उनले भने, ‘धेरै शुल्क लिएको हो भने उजुरी दिनुस्, कारबाही हुन्छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।