ताप्लेजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू

Share News
ताप्लेजुङ (अस) । ताप्लेजुङको फुङलिङ नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको छ । आइतवार वडा नं ४ र ५ का ५० युवालाई काममा लगाएर नगरपालिकाले उक्त कार्यक्रमको थालनी गरेको हो । आवेदन दिएका मध्येबाट पहिलो चरणमा ४१० जनालाई छनोट गरिएको नगर प्रमुख छत्रपति प्याकुरेलले बताए । नगरका सबै वडाका १ हजार ६८५ जनाले आवेदन दिएका थिए । अन्य वडामा समेत प्रक्रिया पूरा भइसकेकाले छनोट भएकालाई तत्काल काममा लगाइने प्याकुरेलको भनाइ छ । पहिलो चरणमा छनोट भएकालाई नगर क्षेत्रका सडक, गोरेटो बाटो निर्माण, बजार क्षेत्रको फोहोरमैला संकलन, व्यवस्थापन तथा नाली सरसफाइ, कुलो मर्मत, भवन मर्मत लगायत काम काममा लगाइनेछ । नगरपालिकाका ११ वडामा २८ ओटा योजना बनाई कार्यक्रम सञ्चालन गरिएको हो । आवेदन दिएर पहिलो चरणमा छनोट नभएकालाई अर्को चरणमा काममा लगाइने रोजगार कार्यक्रमका संयोजक राजकुमार बानियाँले जानकारी दिए । उनका अनुसार कामदारले दैनिक ७ घण्टा काम गरेबापत रू. ६५५ पारिश्रमिक पाउनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।