११ प्रतिशत ब्याजदरमा ऋण लिएर खर्च गर्ने पक्षमा सरकार छैन : मन्त्री आङ्बो

Share News

रोशनी भट्टराई

असार ५, विराटनगर । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आन्तरिक ऋण लिएर विकास पूर्वाधारमा खर्च गर्ने पक्षमा प्रदेश सरकार तत्काल नरहेको बताएका छन् । अहिले प्रदेश सरकारले तय गरेका योजनाहरु कार्यान्वयन गर्ने क्षमता पूर्ण विकास नभइसकेको र लगानीको पर्याप्त क्षेत्र पहिचान गर्ने काम भइरहेकाले ११ प्रतिशत ब्याजदरमा आन्तरिक ऋण लिनु उपयुक्त नरहेको उनको भनाए छ ।

बिहीवार राजस्व तथा व्ययको आगामी वर्षको अनुमानमाथि प्रदेश सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री आङबोले चालू खर्च र पूँजीगत खर्च सन्तुलित अवस्थामा रहेको र त्यसले आर्थिक अनुशासन कायम गर्न प्रदेश सक्षम रहेको बताए । आगामी आर्थिक वर्ष प्रदेशको चालू खर्च केही वृद्धि हुने भन्दै उनले यो वर्षको तेस्रो चौमासिकको शुरुसम्म १५० कार्यालयहरु प्रदेश मातहतमा आएको, ३ हजार ८८३ कर्मचारीको सेवा, सुविधा र तलब भुक्तानी गर्नुपर्ने तथा कतिपय नयाँ संरचना निर्माण गर्नुपर्दा चालू खर्च बढ्न जाने कुरालाई स्वीकार गरे ।

चालू खर्च बढे पनि आन्तरिक आयसँग सन्तुलन गरेरै बजेट आएकोमा चिन्ता नलिन उनले सांसदहरुलाई आग्रह गरे । मुख्यमन्त्रीलाई बलियो बनाएर मात्र संघीयता बलियो हुने भन्दै उनले केही कार्यक्रममा मुख्यमन्त्रीको नाम जोडिएकै भरमा राजा बन्ने प्रयत्न भयो भन्ने प्रमुख विपक्षी दलको आरोपको खण्डन समेत गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।