सल्यान (अस) । सल्यानको शारदा नगरपालिका–४, पिपलनेटामा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालयको हाताभित्र रहेको ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रले हटाएको छ ।
विद्यालय हाताभित्र विद्यालयसँग छलफल नै नगरेर ट्रान्सफर्मर जडान गरिएपछि समस्या भएको थियो । हालै मात्र प्राधिकरणले ट्रान्सफर्मरलाई निकालेर स्वास्थ्यचौकी पछाडिको जमीनमा जडान गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश हमालले बताए । गत चैत २१ गते आर्थिक अभियानले विद्यालय परिसरमा भएको ‘ट्रान्सफर्मर हटाउन प्राधिकरणको बेवास्ता’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
समाचारको प्रभावकै कारण अहिले विद्यालय हाताभित्र रहेको ट्रान्सफर्मर हटेको हमालले बताए । ‘फलामको पोलमा झण्डै २ मिटरजति उचाइमा ट्रान्सर्फमर थियो, साना विद्यार्थी पनि सजिलैसँग पुग्न सक्थे । यसबाट ३÷४ पटक विद्यार्थीलाई करेन्ट लागेर घाइते समेत भएका थिए,’ उनले भने । समाचारको आधारमा जिल्ला प्रशासनमा निवेदन दिएको र विद्यालयको मागअनुसार प्राधिकरणले ट्रान्सर्फमर हटाएको उनले बताए । ट्रान्सफर्मर हटेपछि विद्यार्थीलाई खेलमैदानमा खेल्न, खेलमैदान स्तरोन्नति गर्न तथा नयाँ विद्यालय भवन निर्माणमा सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोम प्रकाश थापाले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।