दिनेश गजमेर
सुनसरी । त्रिदेशीय व्यापार प्रवर्द्धनका लागि निर्माण शुरू भएको रानी–किमाथांका सडक अन्तर्गतको इटहरीदेखि तरहरासम्मको सडकखण्ड विस्तारमा ढिलाइ हुँदा सर्वसाधानरण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
सडकको बीच भागमै रहेका बिजुलीका पोलहरू स्थानान्तरणमा ढिलाइ भएको हो । वर्षात्मा सडकको बीच भागका खाल्डामा पानी जम्ने गर्दा ६ लेनको सडक जताततै जोखिमपूर्ण बनेको छ । सडक निर्माणमा लापरबाही भएको कारण जोखिम बढेको स्थानीय रमेश श्रेष्ठ बताउँछन् ।
सडकको काम सुस्त हुँदा तरहराको मुख्य बजार क्षेत्रमा नै जाने बाटो अवरुद्ध भएको छ । एम्बुलेन्स, दमकल र प्रहरीको गाडी पनि नछिर्ने गरी मुख्य बाटो बन्द रहेको छ । सडक आयोजनाले हालसम्म दुहबीको बजार क्षेत्रमा रहेको २ किलोमिटरको काम छाडेर रानीदेखि इटहरी प्रवेश केन्द्रसम्म काम गरेको छ । इटहरीबाट तरहरासम्मको सडकको काम गत वैशाखसम्ममा सकिनुपर्ने हो, तर बिजुलीका पोल स्थानान्तरण, जग्गा अधिग्रहणका समस्या समाधानका लागि सरकारको ढिलासुस्तीले काम अघि बढ्न नसकेको आयोजनाको भनाइ छ ।
आयोजनाका इन्जिनीयर सागर बडालले हाइटेन्सनको पोल नै सबैभन्दा ठूलो समस्या रहेको जानकारी दिए । आयोजनाले लक्ष्य गरे अनुसारको काम नभएको स्वीकार गर्दै उनले दशैं अगाडि तरहराको पानीपियादेखि यातायात कार्यालयसम्म कालोपत्र सक्ने तयारी भइरहेको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।