व्यावसायिक बन्दै बादी परिवार

Share News
रुकुम पश्चिम (अस) । जिल्लाको आठबीसकोट नगरपालिका–९, राडि बजारमा बस्दै आएका बादी समुदाय व्यवसायतर्फ आकर्षित भएका छन् । उनीहरूले मादल निर्माण, खुद्रा पसल, कुखुरापालन र बंगुरपालन लगायतका व्यवसाय थालेका छन् । यसअघि बादी समुदायले खोलाको किनारामा बस्दै घुमन्ते जीवन बिताउने र माछा मारेर जीवन निर्वाह गर्दै आएका थिए । अहिले यस बस्तीको प्रत्येक घरमा व्यवसाय सञ्चालन गरिएको स्थानीय कलिभान बादीले जानकारी दिए । ‘यस बस्तीका ३ घरपरिवार मादल निर्माण व्यवसायमा संलग्न छन् । बंगुर पालनमा २ र खुद्रा पसल व्यवसायमा ३ घर परिवार आबद्ध छन्,’ उनले भने । उनका अनुसार कुखुरा पालन र ग्रिल उद्योगमा २/२ घरपरिवार र तरकारी खेती, माछा मार्ने व्यवसाय र मासु पसलतर्फ १/१ घरपरिवार संलग्न छन् । स्थानीय अमृता बादीले खुद्रा पसल व्यवसायबाट मासिक रू. १५ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको बताइन् । व्यवसाय शुरू गरेपछि दैनिक जीवनयापनमा आर्थिक समस्या कम भएको उनको भनाइ छ । बादी समुदायका १५ घर परिवारलाई व्यावसायिक बनाउन युएमएन रुकुम कलष्टरले आर्थिक सहयोग गरेको हो । यसका लागि चालू आर्थिक वर्षमा २५ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको संस्थाका जीविकोपार्जन कार्यक्रम अधिकृत जुनतारा बुढाले जानकारी दिए । उनका अनुसार बादी समुदायको जीविकोपार्जनमा सुधार गर्नुको साथै बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको हो । घरबारी विहीन बादी परिवारका लागि २०७३ सालमा जग्गा खरीद गरी लालपुर्जा वितरण गरिएको थियो । तत्कालीन सांसद दलजित श्रीर्पालीको सांसद विकास कोष अन्र्तगतको रू. १० लाख रुपैयाँ र बादी समुदायको रू. १ लाख रुपैयाँ गरी जम्मा जग्गा खरीद गरिएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।