मदन गिरी
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आवका लागि १ अर्ब २२ करोड ८२ लाखको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, जसअनुसार चालू खर्च ८० करोड ३३ लाख २५ हजार र पूँजीगत खर्च ४२ करोड ४९ लाख छ । गत शनिवार आयोजित नगरपालिकाको पाँचौं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
नगरपालिकाले अगामी आर्थिक वर्षको बजेटमा गत आर्थिक वर्षका नगरका गौरवका योजनालाई निरन्तरता दिएको छ । यस्तै कतिपय नयाँ कार्यक्रम राखिएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार आगामी बजेटमार्फत पर्यटन, पूर्वाधार र कृषिमा जोड दिइएको छ ।
नगरका सडक कालापत्रे, स्तरोन्नति र नयाँ निर्माणलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ । त्यस्तै क्लीन ग्रीन सिटी अभियान सञ्चालन, सबै किसिमका व्यापार व्यवसायका लागि ‘कञ्चन महल’ निर्माण, हाट बजार सञ्चालन, महेन्द्रनगर बजारमा ढलनाली र फूटपाथसहितको सडक निर्माणका योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरका सार्वजनिक क्षेत्रमा खानेपानीको व्यवस्था, नहरको सिँचाइ अपुग रहेका क्षेत्रमा भूमिगत सिँचाइ सञ्चालनमा ल्याइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै १९ ओटै वडामा इन्टरनेट सेवा विस्तारका साथै सबै वडामा विद्युतीय बडापत्र तथा हेल्पडेस्क राख्ने योजना नगरको छ । ‘हाम्रो नगर हाम्रै कर, समृद्ध नगर हाम्रो रहर’ अभियानलाई निरन्तरता दिइनेछ । नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोततर्फ १३ करोड ३४ लाख, वित्तीय समानीकरण (संघीय)तर्फबाट २४ करोड ४६ लाख र वित्तीय समानीकरण (प्रदेश)बाट ३७ लाख २६ हजार आय प्राप्त हुने बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।