सुदूरपश्चिममा एसईईको नतिजा कमजोर, धनगढीका समिर थापाको जीपीए ३.९

Share News

वीरेन्द्र भट्ट

असार १३, धनगढी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिमको नतिजा कमजोर देखिएको छ । यो प्रदेशबाट परीक्षामा सहभागी ५० हजार ६०० परिक्षार्थीमध्ये २५१ परिक्षार्थीले मात्रै उच्च जीपीए ल्याउन सफल भएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा कुल ४९ हजार ६५६ परीक्षार्थीको नतिजा प्रकाशित भएको छ । जसमा छात्र २३ हजार ८८४ र छात्रा २५ हजार ७७२ जना रहेका छन् । गत चैत १० गतेदेखि सञ्चालित एसईईको नतिजा बिहीवार सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टा–छुट्टै सार्वजनिक गरेको हो । १ हजार ९६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक÷फरक बनाएर परीक्षा लिइएको थियो ।

नतिजामा सुदूरपश्चिम अन्य प्रदेशभन्दा कमजोर देखिएको हो । सुदूरपश्चिम प्रदेशमा सहभागी भएका विद्यार्थीहरुमध्ये शून्य दशमलव ५ प्रतिशत परीक्षार्थीले मात्रै उच्च जीपीए ल्याएका छन् । ७ प्रदेशमध्ये सुदूरपश्चिम कर्णालीभन्दा मात्रै अगाडी देखिएको छ । ३ दशमलव ६० देखि ४ सम्म जीपीए ल्याएमा उच्च जीपीए मानिन्छ । शैक्षिक सुधारमा यो प्रदेश अपेक्षाअनुरुप माथि उठ्न नसकेको शिक्षाविद डा. हेमराज पन्त बताउँछन् ।

प्रदेशका सामुदायिक विद्यालयहरुको नतिजा अझै कमजोर रहेको शिक्षाविद्हरु बताउँछन् । सरकारी विद्यालयहरुमा हुने राजनीतिकरणले एकातर्फ शिक्षामा भएको लगानी खेर गइरहेको छ भने अर्कोतर्फ शिक्षा सुधारमा देखिएको आर्थिक अभावले नतिजा कमजोर बन्दै गएको अर्थशास्त्री रामबहादुर बुढाऐर बताउँछन् । कानूनतः शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र एवम् बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गरिएपनि व्यवहारमा विद्यार्थीले त्यसको अनुभूति गर्न नपाएको धारणा शिक्षाविद्हरुको छ । एसईईमा कर्णालीभन्दा थोरै अगाडी भएपनि कर्णाली प्रदेशभन्दा सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या पनि बढी थियो । तर सुदूरपश्चिम प्रदेशको नतिजा गुणात्मक रुपमा कमजोर नै रहेको अधिकारीहरु बताउँछन् ।

धनगढीका समिर थापाको जीपीए ३.९ एसईईको बिहीवार सार्वजनिक नतिजामा धनगढी उप–महानगरपालिका–१३ का समिर थापाले ३ दशमलव ९ जीपीए ल्याएका छन् । कैलाली जिल्लामा अहिलेसम्म प्राप्त जानकारी अनुसार थापाले नै उच्च जीपीए ल्याएका हुन । धनगढी उप–महानगरपालिका–१३ मा रहेको किङफिसर बोर्डिङ स्कुलबाट एसईई परीक्षामा सहभागी भएका थिए । थापाले सामाजिक शिक्षा र जनसंख्या, स्वास्थ्य तथा वातावरण बाहेक अन्य सबै विषयमा ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।