धनगढी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिमको नतीजा कमजोर देखिएको छ । प्रदेशबाट ५० हजार ६ सय परीक्षार्थी सहभागी भएकामध्ये २५१ परीक्षार्थीले मात्रै उच्च जीपीए ल्याउन सकेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा कुल ४९ हजार ६५६ परीक्षार्थी उत्तीर्ण हुँदा छात्र २३ हजार ८८४ र छात्रा २५ हजार ७७२ जना छन् । बोर्डले सातै प्रदेशको छुट्टाछुट्टै नतीजा सार्वजनिक गरेको हो । नतीजामा सुदूरपश्चिम अन्य प्रदेशभन्दा कमजोर देखिएको छ । सुदूरपश्चिम प्रदेशमा सहभागी भएका विद्यार्थीमध्ये शून्य दशमलव ५ प्रतिशत परीक्षार्थीले मात्रै उच्च जीपीए अंक ल्याएका छन् । ७ प्रदेशमध्ये सुदूरपश्चिम कर्णालीभन्दा मात्रै अगाडि देखिएको छ । ३ दशमलव ६० देखि ४ सम्मको जीपीएलाई उच्च मानिन्छ ।
शैक्षिक सुधारमा यो प्रदेश अपेक्षाअनुरूप माथि उठ्न नसकेको शिक्षाविद् डा. हेमराज पन्त बताउँछन् । एसईई उत्तीर्ण दर अहिले पनि ३० प्रतिशतभन्दा माथि जान नसकेको उनको भनाइ छ । प्रदेशका सामुदायिक विद्यालयहरूको नतीजा अझै कमजोर रहेको छ । सरकारी विद्यालयमा राजनीतीकरणले एकातर्फ शिक्षामा भएको लगानी खेर गइरहेको छ भने अर्कोतर्फ शिक्षा सुधारमा देखिएको आर्थिक अभावले नतीजा कमजोर बन्दै गएको अर्थशास्त्री रामबहादुर बुढाऐर बताउँछन् ।
कानूनतः शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र एवम् बन्दहडताल निषेधित क्षेत्र घोषणा गरिए पनि व्यवहारमा विद्यार्थीले त्यसको अनुभूति गर्न नपाएको धारणा शिक्षाविद्को छ । ‘एसईईमा कर्णालीभन्दा सुदूरपश्चिमबाट परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या बढी भएकाले उत्तीर्ण संख्या बढी देखिएको हो,’ बुढाऐर भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।