पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली दैलेखमा : ‘डीपीआरपछि आधारभूत काम शुरू’

Share News
सुर्खेत (अस) । उद्योग तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न लागिएको बताएका छन् । चिनियाँ टोलीसहित पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख जाने क्रममा आइतवार सुर्खेत विमानस्थलमा मन्त्री यादवले डीपीआरपछि पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया थालिने जानकारी दिए । ‘विस्तृत परियोजना प्रतिवेदनपछि पेट्रोलियम खानी क्षेत्रको आधारभूत पूर्वाधार निर्माणको काम शुरू हुन्छ,’ मन्त्री यादवले भने, ‘व्यावसायिक रूपमा हुन सक्ने उत्पादनबारे स्पष्ट भएपछि काम अगाडि बढ्छ ।’ दैलेखका सिरिस्थान, नाभीस्थान, कोटिला, धुलेश्वरलगायत क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली र नेपालको खानी तथा भूगर्भ विभागका टोली अहिले दैलेखमा छन् । नेपाल–चीनबीच लामो छलफलपछि चीनको चाइना जियोलोजिकल सर्भेको विशेषज्ञ टोली पेट्रोलियम पदार्थको अन्वेषणका लागि आएको हो । यसअघि वैशाख १८ गते चिनियाँ टोलीले अन्वेषणको मिति तोकेको थियो । टोली आउन ढिलाइ भएपछि वैशाखको अन्तिम साता मिति सारिएको थियो । २०१८ फेब्रुअरी २८ मा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।