सिंहदरबारमा थन्किएको गाडी धनपालथानमा गुड्ने

Share News

१७ असार, विराटनगर । सिंहदरबारमा थन्किएको सवारीसाधन मोरङको धनपालथान गाउँपालिकामा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको समन्वयमा बा१झ ६६९९ नम्बरको उक्त प्राडो गाडी आवश्यक मर्मत–सम्भार गरी धनपालथान गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

मन्त्री पण्डितको पहलमा अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले उक्त गाडीको साँचो धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिंह गनगाईलाई जिम्मा लगाएका छन् । आफ्नै गाडी नहुँदा भाडामा लिएर काम चलाउँदै आएको गाउँपालिकाले मन्त्रालयमार्फत गाडी पाएपछि राहत महशुस गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताए । यसैगरी गाउँपालिकाका कार्यकारी अधिकृत लोचन दाहालले मन्त्रालयमा थन्किएका यस्ता गाडी आवश्यक मर्मत गरी स्थानीय तहलाई उपलब्ध गराउँदा राज्यको सम्पत्तिको सही सदुपयोग र संरक्षण हुने बताए ।

गाडीको साँचो हस्तान्तरणका क्रममा सचिव आलमले मन्त्री पण्डितको विशेष पहलमा गाडी प्राप्त भएको बताए । उनले भौतिक पूर्वाधार कमजोर भएका स्थानीय तहलाई हस्तान्तरित गाडीले ग्रामीण क्षेत्रको विकास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।