माधवकुमार ओली
रोल्पा । बजेट विनियोजन गर्ने निकायको टुंगो नलाग्दा रोल्पाको एउटा विद्यालय भवन अलपत्र परेको छ । २०७४ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय, रोल्पामार्फत निर्माण शुरू गरिएको त्रिवेणी गाउँपालिका–३ लिङदुङस्थित सरस्वती माध्यमिक विद्यालयको भवन हाल प्रदेश वा संघ कुन सरकारले बजेट छुट्ट्याउने भन्ने अन्योलले अलपत्र परेको हो ।
विद्यालयको भवन निर्माण ३६ लाख लागतमा सम्पन्न गर्ने सम्झौता भएको थियो । तर पहिलो किस्ताको १६ लाख ५० हजारबाहेक बाँकी बजेट नआउँदा भवन निर्माणमा समस्या भएको हो । नयाँ भवन निर्माण नहुँदा विद्यालयको जीर्ण भवनबाटै पठनपाठन गर्नुपरेको शिक्षकहरूको गुनासो छ । ‘एकमुष्ट रकम दिएको भए गतवर्ष नै भवन निर्माण सकिन्थ्यो,’ निमित्त प्रधानाध्यापक ओमविक्रम घर्तीले भने ।
पहिलो किस्ता जिल्ला शिक्षा कार्यालयबाटै भुक्तानी लिएकोमा हाल शिक्षा शाखा स्थानीय तहमा गएको भन्दै शिक्षा कार्यालयले बजेट पनि उतैबाट भुक्तानी हुने बताएको थियो । तर पहिलो किस्ता लिएको २ वर्ष पुग्न लाग्दा पनि दोस्रो किस्ता आउने टुंगो छैन । स्थानीय तहले भने बजेट र स्थानीय स्रोत साधनबाटै भवन निर्माण सम्पन्न गरिने बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।