दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण थालियो, सदियौंदेखि बलिरहेको ज्वाला निभ्ने चिन्ता

Share News

पंखबहादुर शाही

असार १८, दैलेख । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गरिएको छ । करीब १७ महीनामा अन्वेषणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पञ्चकोशी क्षेत्र नाभिस्थान, श्रीस्थान, पादुका क्षेत्रमा उक्त अन्वेषण गर्नका लागि ‘चाइना जियोलोजिकल सर्भे’ टोलि र खानी तथा भूगर्भ विभागका उच्च अधिकारीहरु सोमवार बिहान दैलेख पुगेका थिए । उक्त टोलि र नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्वेषणको औपचारिक शुरुवात गरेको हो ।

सो अवसरमा दैलेख पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले देशको अर्थतन्त्रमा निकै ठूलो परिवर्तन गर्न सक्ने सम्भावना र अपेक्षाका साथमा अन्वेषणको शुरुआत गरिएको बताए । यहाँको अनुसन्धानसँगै सम्भावना बढ्दै गए दैलेखका युवाहरुलाई विशेषज्ञ रोजगारीका लागि सरकारले निःशुल्क पढाउने र अन्वेषणको क्षेत्रमा विज्ञता प्रदान गराउन सरकार लाग्ने उनले बताए । ‘हाल अनुसन्धान मात्र हो,’ मन्त्री यादवले भने, ‘यहाँको धार्मिक महत्वलाई कायम राख्ने गरी काम अघि बढ्छ, सरकारले यस क्षेत्रलाई धार्मिकसँगै अनुसन्धानको क्षेत्र बनाएको छ ।’ हजारौं मानिसहरु यहाँको अनुसन्धान हेर्न आउँदा पर्यटन व्यवसायमासमेत वृद्धि हुने मन्त्री यादवको भनाइ छ ।

पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पेट्रोलियम भण्डारणको उत्खनन् गर्ने कार्य जटिल भएकोले चीन सरकारले विभिन्न तरिकाबाट अनुसन्धान गरेको बताए । देशका सबै स्थानहरुको खोजी गर्ने क्रममा दैलेख पहिलो प्राथमिकतामा परेको उनले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो अन्वेषण मात्रै नभएर उत्खनन् समेत भई कर्णालीवासीको आर्थिक उन्नतिमा सहयोग पुग्ने अपेक्षा गरे । ‘हामीले सुनको माथि खुट्टा टेकेको छौं, सम्पत्ति थुप्रै छ, सम्पत्तिमाथि कुल्चेर हिँडेका छौं,’ उनले भने, ‘यति हुँदाहुँदै पनि अरु देशसँग दान मागेर देश चलाउनुपर्ने अवस्था छ ।’ अब देश बनाउन आफ्नो ठाउँमा जे छ त्यसैको सदुपयोग गर्ने र त्यही चिजबाट आत्मनिर्भर हुनुपर्ने मुख्यमन्त्री शाहीले औंल्याए ।

यो समयको अनुसन्धानबाट भण्डारणको परिणामबारे निष्कर्ष आउने र सोही अनुरुप कार्य अघि बढाईने तयारी सरकारको छ । अन्वेषणमा टान फुयाङको नेतृत्वमा चीन सरकारको १९ जना विशेषज्ञ टोलि खटिएको छ । यस क्षेत्रमा मिथेन ग्यास भएको यसअघि नै प्रमाणित भइसकेको छ । अबको १७ देखि २० महीनामा अन्वेषण गरी कति परिमाणमा पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिन्छ भन्ने पत्ता लगाई चिनियाँ टोलिले नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छ । त्यसपश्चात मात्रै उत्खननको काम अघि बढ्ने बताइएको छ ।

संघीय संसद अन्तर्गतको प्रतिनिधसभाका सांसद रविन्द्रराज शर्माले यहाँबाट ग्यास उत्खनन् गर्न सकिए विकास र अर्थतन्त्रमा ठूलो परिवर्तन आउने धारणा राखे । सांसद सुशिल कुमार थापाले अन्वेषण हुने तर अवरोध खडा गरी उत्खनन कार्य अघि नबढे देशकै लागि दुःखद हुने बताए ।

धार्मिक संरचनामाथि खेलबाड नहोस् यस क्षेत्रका स्थानीय तहका प्रमुखहरुले भने अन्वेषणको क्रममा यहाँको धार्मिक संरचना र यसको महत्वमाथि आँच आउने काम नगर्न सचेत गराएका छन् । ‘धार्मिक क्षेत्र भनेको दैलेखवासीको इतिहास हो,’ दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले भने, ‘धार्मिक क्षेत्रको अस्तित्वमाथि खेलबाड गर्ने गरी काम गर्नु दैलेखवासीको मानहानि हुनु हो, त्यसैले दुबै पक्षलाई समेटेर काम गर्नुपर्छ ।’

स्थानीय बासिन्दाले अन्वेषणका क्रममा सदियौंदेखि बलिरहेको ज्वाला निभ्ने चिन्ता पनि व्यक्त गरेका छन् । ‘ज्वालालाई कुनै हालतमा पनि निभ्न दिनुहुँदैन,’ स्थानीय चन्द्रबहादुर रावतले भने, ‘देशलाई आर्थिक रुपमा परिमार्जित गर्न पञ्चकोशी क्षेत्रको गरिमा मेटाउनु हुँदैन ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।