माधवकुमार ओली
रोल्पा सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालयबीच समन्वय नहुँदा रोल्पाको होलेरी–स्वर्गद्वारी सडक स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक चौडा गर्दा वन फँडानी भएको भन्दै डिभिजन वन कार्यालय रोल्पाले सडक डिभिजनविरुद्ध मुद्दा दायर गरेपछि सडक स्तरोन्नतिको काम रोकिएको हो ।
सडक डिभिजन कार्यालय, प्यूठानले वातावरणीय प्रभाव मूल्यांकनविना नै काम थालेको वन कार्यालयको आरोप छ । सडक डिभिजनले भने रूख काट्ने सहमति भएपछि मात्र काम शुरू गरिएको बताउँदै आएको छ । दुई सरकारी कार्यालयको विवादका कारण सडक स्तरोन्नतिको काम रोकिँदा स्वर्गद्वारी जाने तीर्थयात्री र स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
एउटा सरकारी कार्यालयले गरेको काममा अर्काे सरकारी कार्यालयबाटै अवरोध हुँदा स्थानीय बासिन्दा मर्कामा परेको रुन्टीगढी गाउँपालिका–५ का वडाध्यक्ष यामबहादुर दशौदीले गुनासो गरे ।
‘सरकारी कार्यालयको यस्तो प्रवृत्ति यहाँका स्थानीयका लागि दुर्भाग्यपूर्ण बनेको छ,’ उनले भने । सडक स्तरोन्नति नहुँदा वर्षायाममा हिलो र हिउँदमा धूलोले हैरान हुनुपरेको उनको भनाइ छ ।
करीब ५ किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा लोहनीवरदेवी रानीवन जेभी कम्पनीले पाएको थियो । साढे ५ करोड लागतमा यो सडक विस्तारको काम गत वर्षको चैतमा सक्ने योजना थियो, तर कात्तिकमा मुद्दा परेपछि काम ठप्प भएको हो । दुई कार्यालयबीच समन्वय गरी सडक स्तरोन्नतिको काम तत्काल सुचारु गर्न स्थानीयले माग गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।