सल्यानमा ५०% धान रोपाइँ

Share News
सल्यान (अस) । असार मध्यसम्ममा सल्यानमा ५० प्रतिशत खेतमा धान रोपाइँ भएको छ । समयमै वर्षा नहुँदा जिल्लामा धान रोपाइँ कम भएको कृषि ज्ञानकेन्द्र (रुकुम पश्चिम), सम्पर्क कार्यालय सल्यानले बताएको छ । कार्यालयका बागवानी विकास अधिकृत चोपनारायण खनालले अहिले जिल्लामा सिँचाइ सुविधा भएका र खोला किनारका खेतमा मात्रै रोपाइँ भएको जानकारी दिए । ‘जिल्लाभरको तथ्यांक हेर्दा ५० देखि ५५ प्रतिशतको हाराहारीमा धान रोपाइँ सकिएको छ,’ उनले भने । समयमै वर्षा नहुँदा आकाशे पानीको भरमा धानखेती गर्दै आएका किसान मारमा परेका छन् । सल्यानका किसानले राधा ४, रामधान, सुक्खा ५, खुमलटार लगायत जातका धानको बीउ लगाउँदै छन् । बेलैमा रोपाइँ नहुँदा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्लाका कालीमाटी रामपुर, काप्रेचौर, छायाक्षेत्र, झिम्पे, त्रिवेणी, स्यानीखाल, डाँडागाउ लगायत ठाउँमा धानखेती हुने गरेको छ । रोपाइँपछि धानबालीको विशेष हेरचाह गर्न कार्यालयले किसानहरूलाई आग्रह गरेको छ । यसैबीच, जिल्लामा अहिले रासायनिक मलको अभाव देखिएको कृषि ज्ञानकेन्द्र (रुकुम पश्चिम) सम्पर्क कार्यालय, सल्यानले बताएको छ । धान र मकैमा मल हाल्ने बेला हुँदासमेत रासायनिक मल नपाउँदा किसान मर्कामा परेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।