खानेपानी तथा सरसफाइ गुरुयोजना बनाइँदै

Share News
रोल्पा (अस) । प्रदेश नम्बर ५ सरकारले खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्न गुरुयोजना बनाउन लागेको छ । दिगो खानेपानी तथा स्वच्छता सम्बन्धी सेवा दिन एकीकृत तथा गतिशील गुरुयोजना बनाउन लागिएको हो । त्यसका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विज्ञहरूले तयार पारेको गुरुयोजना सम्बन्धी दस्तावेजमाथि प्रदेशका १२ ओटै जिल्लामा पुगी अभिमुखीकरण तथा सुझाव संकलन थालेको छ । सोही क्रममा मंगलवार रोल्पामा सुझाव संकलन गरिएको छ । पहिलो चरणमा स्थानीय तहमा विद्यमान खानेपानी तथा सरसफाइ योजनाको तथ्यांक अद्यावधिक गर्ने, बस्ती पहिचान गर्ने र योजना प्राथमिकीकरण गरिने सरसफाइविज्ञ चन्द्रभक्त विष्टले बताए । योजना निर्माणका लागि आगामी साउनदेखि प्रदेशमा रहेका सबै स्थानीय तहमा एक जना सरसफाइ संयोजक प्रदेशले खटाउने भएको छ भने प्रत्येक वडामा तथ्यांक संकलनका लागि २ वा सोभन्दा बढी गणकहरू सम्बन्धित स्थानीय तहले खटाउने छन् । संकलित विवरण डिजिटल प्रणालीमा राखिनेछ । यसले गर्दा स्थानीय, प्रदेश र संघीय सरकारले बजेट विनियोजन गर्दा दोहोरिने सम्भावना नहुने साथै यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थालाई पनि गुरुयोजना बमोजिम मात्र काम गर्न लगाइने भौतिक पूर्वाधार विकास मन्त्रालयका सविच रामचन्द्र दंगालले बताए । प्रदेशले बनाउन लागेको गुरुयोजनाले खानेपानीको समस्या भोग्दै आएका पहाडी जिल्लाहरूलाई फाइदा पुग्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले जानकारी दिए । यो योजनाले सन २०२२ सम्म रोल्पा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने अभियानलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।