आकाश तारा बयक
असार २२, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीलाई रोजगारमय बनाउन आह्वान गरेका छन् । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा घरेलु तथा साना उद्योग विकास कार्यालय र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा बेरोजगार युवालाई एक महीने अटोरिक्सा तथा मोटरसाइकल मर्मत सम्बन्धी तालिमको शनिवार वीरेन्द्रनगरमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री बुढाले प्रदेश सरकार निजी क्षेत्रसँग मिलेर प्रदेशलाई रोजगारमय बनाउन लागि परेको जिकिर गरे ।
उनले कर्णालीमा दक्ष जनशक्तिको अभावको अन्त्य गर्न सीपमूलक तथा बहुप्राविधिक शिक्षाको विकासमा जोड दिएर रोजगारीका अवसर सृजना गर्ने कार्यक्रमहरु तय गरिएको जनाए । ‘प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम जस्ता थुप्रै रोजगारमूलक कार्यक्रमहरु ल्याउँदैछ,’ उनले भने, ‘सीप सिकेका प्राविधिकधारका कोही पनि व्यक्ति अब बेरोजगार भएर बस्नु पर्देन ।’ उनले आफ्नो योग्यता, क्षमता अनुसारको कामका लागि अब प्रदेश बाहिर जाने दिनको अन्त्य गर्न सरकार लागि परेको बताए । उनका अनुसार कर्णालीका युवाले अब समय खेर नफाली सीप आर्जन गरेर कुनै न कुनै पेशा अपनाएर स्वरोजगार बन्नै पर्छ ।
मन्त्री बुढाले कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन कर्णालीका हरेक बजारमा मोटरसाईकल तथा अटो रिक्साको मर्मत गर्ने जनशक्तिको खाँचो आवश्यक परेको बताए । ‘हामीले लिएको लक्ष्य पुरा गर्न र पर्यटकीय गन्तव्यमा जान आएका सवारी साधनका लागि मेकानिकहरु आवश्यक छन्,’ उनले भने, ‘त्यो आवश्यकता पुरा गर्न र पर्यटकलाई सवारी साधानबाट हुने सास्तीबाट मुक्त गराउन कर्णालीभर जानुहोस् ।’ उनले यो वर्ष आफ्नो मन्त्रालयले ५ करोड रुपैयाँ विभिन्न युवाहरुको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका निर्देशक शम्भुप्रसाद पौडेलले प्रदेशमा रहेको बेरोजगारी दरलाई कम गर्न यस्ता छोटो अवधिका सीप विकास तालिमले टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले प्राविधिक क्षेत्रमा रुची राख्ने सामान्य लेखपढ गर्न जानेका युवालाई लक्षित गरी मन्त्रालयले छोटो अवधिका तालिम शुरु गरेको बताए ।
त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कँडेलले अटोरिक्सा तथा मोटरसाइकल तालिम पश्चात सबै सहभागीलाई सुर्खेतका विभिन्न अटो वर्कसपमा दक्षता अनुसारको काम दिइने बताए । उनले जिल्लामा दक्ष कामदारको अभावका कारण अहिले बाहिरबाट मान्छे मगाएर काम गराउनु पर्ने बाध्यता रहेको बताए । ‘प्राविधिक दक्ष जनशक्तिको अटो बजारमा धेरै माग छ,’ अध्यक्ष रावतले भने, ‘दक्ष कामदारको अभावले नै जिल्लामा अन्तरराष्ट्रिय स्तरका अटो वर्कसप खुल्न सकेका छैनन् ।’ उनले जिल्लामा चाहिने दक्ष जनशक्ति जिल्लामै उत्पादन गर्न सकिए अटो बजार थप विस्तार हुने बताए ।
तालिम समापन कार्यक्रममा संघका उपाध्यक्ष दिपेन्द्र ढकाल, कोषाध्यक्ष भद्र भण्डारी, तालिम संयोजक आरपी पाण्डे र तालिमका मुख्य प्रशिक्षक अटोमोवाइल इन्जिनियर दिनेश आचार्य लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए । सामाजिक मन्त्रालयले बेरोजगार युवालाई ‘रोजगार तथा सीप विकास’ कार्यक्रम मार्फत एक महिने अटोरिक्सा तथा मोटरसाइकल मर्मत सम्बन्धी तालिम दिएको थियो । तालिम लिएका सवै ४६ जना युवा वीरेन्द्रनगरका विभिन्न ग्यारेज तथा वर्कशपमा अहिले काम गरिरहेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।