सडक खन्दा सिँचाइ कुलोमा समस्या : ४ हजार हेक्टर खेतीयोग्य जमीन बाँझो

Share News
बुद्धिमान पुन सल्यान । सल्यानमा जथाभावी रूपमा सडक खन्दा सिँचाइ कुलोमा असर पुगेको छ । सिँचाइ कुलोमा क्षति पुग्दा जिल्लाको हजारौं हेक्टर खेतीयोग्य जमीनमा खेती हुन नसकेको स्थानीयले बताएका छन् । सडक निर्माणको क्रममा फालिएको माटोले सिँचाइ कुलो पुरिएको हो । सिँचाइ कुलो पुरिएका कारण जिल्लाभर चार हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमीन पाखोबारीमा परिणत भएको छ । सल्ली चौरजहारी र स्थानीय खैरागार उचाल्ने सडक निर्माण गर्दा दुई सय घरधुरीको झन्डै पाँच सय रोपनी खेतीयोग्य जमीन बाँझो भएको बन्गाड कुपिण्डे नगरपालिका–४ का स्थानीय कञ्चन विष्टले बताए । सडक निर्माण गर्ने सम्बन्धित निकायले सिँचाइ कुलो मर्मतमा ध्यान नदिँदा खेती गर्नबाट आफूहरू वञ्चित भएको छत्रेश्वरी गाउँपालिका–४, सिस्नेरी खोलाका शेरबहादुर वलीको भनाइ छ । उनले सडक खन्दा ध्यान नपु¥याउदा पाँच घरको करीब २५ रोपनी भन्दा बढी जमीन बाँझोमा परिणत भएको बताए । सिद्धकुमाख गाउँपालिकाको बाँझकाडा, डाँडाकटेरी, झारकाँडामा सिँचाइ पुर्‍याइएको चार किलोमिटर कुलो सडक निर्माणका क्रममा क्षतिग्रस्त भएको छ । चाख्लिघाट कुमाख रागेचौर सडकले कुलो पुरिँदा सिँचाइ समस्या चुलिएको सिद्धकुमाख गाउँपालिका–१, कागखोलाका स्थानीय छवि बस्नेतले बताए । सडक खन्ने क्रममा सम्बन्धित निकायले ध्यान नदिएकाले खेती नै संकटमा परेको उनको भनाइ छ । विगत वर्षमा असार पहिलो सातामै रोपाइँ पूरा हुने खेतमा अहिलेसम्म बीउ नै राख्न नपाएको किसानहरूको भनाइ छ । ‘अब वर्षा लागे मात्रै ब्याड राख्ने काम शुरू हुन्छ होला’, उनले भने, ‘सिँचाइ योजना सडकले फाल्यो, हामीसँग अरू विकल्प पनि छैन ।’ सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले सडक खनिएका कारण धेरै सिँचाइ कुलोमा क्षति भएको बताए । ‘सडकले तीन बाली लगाउने खेत बाँझिँदै गएको छ,’ उनले भने । उनले बजेट अभावमा सिँचाइ योजना मर्मतमा समस्या भएको जानकारी दिए । छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले सिँचाइ अभावमा वर्षेनी सयौं घरधुरीले धानको सट्टा मकैखेती गर्न थालेको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।