पंखबहादुर शाही
दैलेख । काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाइने ‘साबर’ (प्रशोधित छाला) का लागि प्रसिद्ध ठाउँ हो, दैलेख । कुनै समय साबरका जुत्ता, चप्पल, कोट, ब्याग, पर्स आदि बिक्री गर्न भ्याइनभ्याइ हुने यहाँका पसलहरूमा अब त्यस्ता सामग्री हराउँदै गएका छन् ।
त्यसो त अहिले पनि मृग र रतुवाको छालाबाट बनाइएको साबरका जुत्ताचप्पलको माग बढिरहेकै छ । जिल्लाका कार्यक्रमहरूमा साबरबाट निर्मित सामग्री चिनोको रूपमा दिने चलन हराएको छैन । नारायण नगरपालिकाका साबर व्यापारी शंकर बयलकोटी भन्छन्, चाडपर्व नजीकिँदै गर्दा साबरका जुत्ताको ‘अर्डर’ आउने गरेकोे छ । साबरबाट बनाइएका सामान आकर्षक, बलिया र पालिश गर्न नपर्ने भएकाले मानिसले बढी रुचाउँछन् । विगतमा यस्ता सामग्री जापानमा समेत निर्यात भएका हुन् ।
तर, पछिल्ला वर्षमा जंगलहरू संरक्षण गरिएको छ र वन्यजन्तु मार्न प्रतिबन्धित छ । साबरको परम्परागत स्रोत समाप्त जस्तै भएको छ । काँचो छालाका लागि अन्य विकल्पको खोजी भएको छैन । त्यसैले साबरबाट सामान बनाउने र साबर व्यवसायीहरू बिलखबन्द परेका छन् ।
यसैबीच, कर्णाली प्रदेश सरकारले साबर व्यवसाय प्रवर्द्धन गर्न चालू आर्थिक वर्षमा रू.४० लाख बजेट विनियोजन गरेको छ । यसैका लागि नारायण नगरपालिकाले पनि बजेट छुट्याउने निर्णय गरेको छ । काँचो छाला वन्यजन्तुबाट नभई घरपालुवा जनावरबाट के कसरी पाउन र उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । ‘बँगुर र राँगाको वधशाला बनाउने योजना छ । साबरको ठूलो माग भएकाले व्यापारीकरण गर्ने प्रयत्न गर्दै छौं,’ उनले भने ।
कसरी हुन्छ छाला प्रशोधन ?
साबर उत्पादनका लागि चारओटा विशेष प्रकारका खाल्डा (खाडी) निर्माण गरिन्छ । खाडीमा मौवा, उत्तीस, धाइरो जस्ता बोटबिरुवाका बोक्रालाई मसिनो धूलो बनाएर चूनपानीसँग मिलाई त्यसमा काँचो छाला राखिन्छ । करीब २० दिनसम्म यसरी राखेपछि बिस्तारै छालाका रौंहरू जान्छन् । अनि विशेष प्रकारको थैलोमा छाला सुकाइन्छ र साबर तयार हुन्छ । यसका लागि करीब तीन महीना समय लाग्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।