लुंग्रीमाडी सिँचाइ आयोजना ३ दशकदेखि अलपत्र

Share News
प्यूठान (अस) । प्यूठानको लुंग्रीमाडी सिँचाइ आयोजना ३ दशकदेखि अलपत्र परेको छ । जिल्लाको माडी क्षेत्रमा सयौं हेक्टर कृषियोग्य जमीन सिँचाइ गर्ने उद्देश्यले २०४४ सालमा निर्माण थालिएको सिँचाइ आयोजना ३२ वर्षमा समेत पूरा हुन सकेको छैन । आयोजना अघि नबढ्दा स्वर्गद्वारी नगरपालिकाका सारी, बेलवास र बर्जिबाङका कृषक निराश भएका छन् । रोल्पास्थित सुनीलस्मृति गाउँपालिकाको सुलीचौरको लुंग्री नदीबाट पानी ल्याई प्यूठानका साविक सारी, बेलवास र बर्जिबाङ गाविसका साढे १३ सय हेक्टर जमीन सिँचाइ गर्ने लक्ष्य लिइएको थियो । आयोजना निर्माणका लागि हालसम्म करीब १३ करोड खर्च भएको स्वर्गद्वारी नगरपालिका–५ का वडाध्यक्ष हीरामणि भण्डारीले बताए । १२ किलोमिटर लामो नहर निर्माण भए सारी, बेलवास र बर्जिबाङका साढे ७ सय किसान लाभान्वित हुनेछन् । आयोजनाको पहिले निर्माण गरिएको नहरसमेत भत्किँदै गएको छ । ‘नहर निर्माणका कुनै सरकारले चासो दिएका छैनन्,’ अध्यक्ष भन्डारीले भने । देशमा तीनओटै तहका सरकार हुँदा समेत आयोजना निर्माण अघि नबढ्नु विडम्बना भएको स्थानीयको गुनासो छ । ‘आयोजना निर्माणमा कुनै सरकारले बजेट विनियोजन नगर्दा दुःख लागेको छ,’ स्थानीय प्रेमप्रसाद भुसालले भने, ‘गाउँमा सिँचाइ आउला र बाँझो जमीनमा बाली लगाउँला भन्ने आशा अधुरै रह्यो ।’ हालसम्म सिँचाइ आयोजनाको ७६ प्रतिशतमात्र काम सकिएको छ । सडक निर्माणले रोकियो काम रोल्पाका विभिन्न स्थानमा जाने सडक निर्माणले सिँचाइ आयोजनाको काम रोकिएको छ । रोल्पाका तेबाङ, अरेस, गाम र कोइरालखर्क पु¥याउने सडक खन्ने क्रममा विभिन्न ठाउँमा पहिरो आउँदा ठाउँ–ठाउँमा नहर पुरिएको छ । रोल्पाका विभिन्न स्थानमा जाने सडक निर्माण नरोकिएसम्म नहरको काम सुचारु नहुने स्वर्गद्वारी नगरपालिकाका प्रमखु नेत्रबहादुर रोकायले बताए । नहर निर्माणका लागि प्रदेश सरकारलाई समेत आग्रह गरिएको उनको भनाइ छ । ‘अब यो प्रदेश सरकारले निर्माण गर्छ,’ उनले भने । रोल्पाका विभिन्न स्थानमा जाने सडक बनाउँदा नहरमा करीब २ करोडबराबरको क्षति पुगेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।