वर्षाले ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ

Share News
ताप्लेजुङ (अस) । वर्षाका कारण कच्ची सडकहरू हिलाम्मे बनेपछि ताप्लेजुङका ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ सृजना भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो झरेपछि र सडक हिलाम्मे बनेपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो । ‘पुराना सडकभन्दा बढी नयाँ सडक हिलाम्मे बनेका छन्, कतै गाडी फसेपछि ठेल्दै र कतै सानातिना पहिरो पन्छाउँदै गाडी चलाइएको छ,’ जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भने । निरन्तर वर्षा भइरहेकाले २ दिनदेखि निकै कठिनाइ भएको र अझै वर्षा भए भोलिदेखि फक्ताङलुङ गाउँपालिका लगायत ठाउँमा गाडी जाने सम्भावना कम देखिएको नेपालीको भनाइ छ । यसअघि वर्षाकै कारण फक्ताङलुङको सिस्ने खोलामा बाढी आउँदा केही सवारीसाधन जोखिममा परेका थिए । बाढीपहिरोको जोखिममा परेका ठाउँमा वर्षात्का बेला सवारी साधनलाई ओहोरदोहोर गराउन निकै समस्या हुने यातायात व्यवसायीको भनाइ छ । तमोर नदीपारिका क्षेत्रमा नयाँ बाटो भएकाले त्यहाँका सडक बढी बिग्रिएका छन् । साविकका पापुङ र मामांखे बाहेकका सबै ठाउँमा सडक पुगेका छन् । जिल्लाको नौ स्थानीय तहका सबै केन्द्रसम्म सवारीसाधन पुग्ने गरेका छन् । हिउँदमा धुलाम्मे हुने सडकमा वर्षा लागेपछि हिलो जम्ने र पहिरो खस्ने भएकाले ओहोरदोहोरमा समस्या भोग्नुपरेको स्थानीय बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।