सूर्यप्रसाद अधिकारी
चितवन । प्रायः सधैं व्यस्त रहने चितवनको भरतपुर विमानस्थलको विस्तार प्रक्रिया अन्योलमा परेको छ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनसँगै यो विमानस्थल विस्तार प्रक्रिया अन्योलमा परेको हो । अधिकारी आफै भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिए पनि त्यसपछि काम अघि बढेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर शाखाका प्रमुख पवनकुमार गौतमले निर्देशनपश्चात् प्रक्रिया अघि बढे पनि हाल काम सुस्त भएको बताए । ‘हाम्रो काम बाटो देखाउने र समस्याको उपाय बताउने हो,’ गौतमले भने, ‘अन्य प्रक्रिया केन्द्रकै हातमा हुन्छ ।’ उनका अनुसार अहिले धावन मार्गको दक्षिणपट्टिका बिजुली र टेलिफोनका तारहरूलाई भूमिगत गर्ने प्रक्रिया भने शुरू भएको छ ।
यो काम पनि टेलिकम र विद्युत् प्राधिकरणको समन्वयमा मात्र अघि बढ्ने उनको भनाइ छ । विमानस्थल विस्तार र स्तरोन्नतिको प्रक्रियाको लागि उत्तरपट्टि रहेको सेनाको ब्यारेक र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्न भने चुनौती छ । ‘दक्षिणपट्टिको तार र केही घरका माथिल्ला तल्ला हटाउन त सकिएला तर उत्तरपट्टिको सेनाको क्षेत्रको लागि केन्द्रीय स्तरबाट निर्णय हुनुपर्छ,’ उनले भने ।
तत्कालीन मन्त्री अधिकारीले विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण स्थानीय तहमार्फत पठाउन निर्देशन दिएका थिए । सोही अनुरूप कार्यालयले भरतपुर महानगरपालिकालाई आवश्यक धावनमार्गको बारेमा खुलाएर पठाएको थियो । सोही पत्रको आधारमा महानगरपालिकाले कार्यपालिकाको बैठकले निर्णय गराई पर्यटन मन्त्रालयमा पठाएको थियो ।
यस विषयमा भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई अन्यत्र स्थान दिन सकिने जानकारी दिएको छ । तर, महानगरले मात्र सेनाको ब्यारेक स्थानान्तरण गर्न नसके पनि यस विषयमा महानगरपालिका प्रमुख रेनु दाहालले विमानस्थल विस्तारको प्रक्रियामा सोझै मन्त्री अधिकारीसँग छलफल गरी काम अघि बढाएको बताएकी थिइन् ।
भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग १ हजार २ सय मिटर लामो छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र बिजुलीका पोल÷तार भएकाले पूरै क्षेत्र जहाजले लिन पाउने अवस्था छैन, जसका कारण सोलुखुम्बुको लुक्लामा झैं छोटो ठाउँमा सोझै अवतरण गर्नुपर्ने बाध्यता छ, जसले गर्दा जहाजको सिट क्षमता बराबर यात्रु राख्न समेत नसकिएको विमान कम्पनीहरूले बताउँदै आएका छन् ।
धावनमार्गसँग जोडिएको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेमा ६ सय मिटर धावनमार्ग थप गर्न सकिने गौतमले बताए, जसले गर्दा सुरक्षित तवरबाट ७२ सिटका जहाज अवतरण गर्न सकिने र रात्रिकालीन उडानसमेत गर्न सकिनेछ ।
महानगर प्रमुख दाहालले अब पर्यटन मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै अघि बढेको प्रक्रियालाई गति दिने बताइन् । भरतपुरबाट काठमाडौं र पोखरा हवाई सेवा रहेको छ । हाल वर्षायाम र यात्रुको कम चाप भएका कारण दैनिक बुद्ध एयरको ४ ओटा काठमाडौं, एउटा पोखरा र यतीको ३ ओटा गरी ८ ओटा उडान हुँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।