भीमेश्वरमा अन्तरराष्ट्रिय स्तरको चिडियाखाना बन्दै

Share News

दोलखा (अस) । भीमेश्वर नगरपालिकाले अन्तरराष्ट्रिय मापदण्ड अनुरूपको चिडियाखाना बनाउने भएको छ । नगरपालिकाले वडा नम्बर ६ स्थित खोरथली सामुदायिक वन क्षेत्रभित्र खोरथली चिडीया खाना बनाउन लागेको हो ।

भीमेश्वर नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडिया खाना स्थापना गर्न लागिएको भीमेश्वरका प्रमुख भरतबहादुर केसीले बताए । चिडियाखाना स्थापनाका लागि डीपीआरको काम भइरहेको उनको भनाइ छ । स्पाइरल ग्रिड सोलुसन प्रालिले गुरुयोजना तयार गरी डीपीआर तयार गरिरहेको नगरपालिकाले बताएको छ ।

खोरथली सामुदायिक वनको ९६ रोपनी क्षेत्रफलमा निर्माण गरिने चिडियाखानाभित्र २ हजारदेखि २४ सय मिटर उचाइसम्म सजिलै बाँच्न सक्ने जनावरलाई प्राकृतिक वातावरण प्रदान गरी राखिने बताइएको छ । चिडियाखानाभित्र पैदल रूपमा जनावरहरू हेर्न चाहनेका लागि फुट ट्रेल तथा सवारीसाधनबाट हेर्न चाहनेका लागि सफारी रुट निर्माण गरिनेछ ।

प्रारम्भिक भौतिक पूर्वाधार निर्माण गर्न १५ करोड ६० लाख ७१ हजाररुपैयाँ खर्च हुने डीपीआरको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।