नदीक्षेत्र अतिक्रमणले इटहरी वर्षेनि बाढीको जोखिममा

Share News

दिनेश गजमेर

सुनसरी । इटहरी उपमहानगरपालिकाका सेहेरा खोला र टेंग्रा खोलामा अतिक्रमण हुँदा शहरी क्षेत्र वर्षेनि बाढीको जोखिममा परेको छ । यी खोला छेउछाउमा अव्यवस्थित जग्गा प्लटिङ हुँदा खोलाको स्वाभाविक बहावमा असर परी इटहरी बजार क्षेत्र बाढीको जोखिममा परेको हो ।

केही दिनयता लगातार परेको वर्षाले इटहरी पनि डुबानमा परेको छ । सेहेरा खोला तरहरा हँदै इटहरी बस्तीमा पसेर वितण्डा मच्चाएको इटहरी हलगडाका युवा मिलन त्रितालले बताए । इटहरी–२ तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डुबानमा परेको छ । केन्द्रको माछा समेत बगाएको छ । बाढीले इटहरी–धरान सडक खण्ड अवरुद्ध भएको छ ।

सेहेरा खोला बूढी खोलामा मिसिने हुँदा त्यसले तटबन्ध भत्काउँदा वडा नं. ३, ४, ९ र १० वडालाई बढी क्षति पु¥याएको छ । स्थानीय तहले इटहरीमा रहेका पैनी तथा खोलाको सीमा छुट्याउन नसक्दा अतिक्रमण बढेको हो । यस क्षेत्रका खोला र पैनीको कति भाग अतिक्रमण भएको छ भन्नेबारे इटहरी उपमहानगरसँग तथ्यांक छैन ।

बाढी समस्या समाधान गर्न गत वर्ष इटहरी उपमहानगरको कार्यपालिकाको बैठकले सेहेरा खोलाले विनाश निम्त्यिाउन सक्ने स्थानको स्थलगत निरीक्षण गरी खोलाको तटीय क्षेत्रमै बैठक बसेको थियो । त्यति बेला सेहेरा खोलाको पश्चिमी तटबन्ध निर्माण गर्न ३० लाख रुपैयाँ छुट्याउने निर्णय भएको थियो । उपमहानगरले बाँध बनाउने काम शुरू गरे पनि बाढीको समस्या ज्यूँका त्यूँ छ ।

उद्योग वाणिज्य संघ इटहरीका नवनिर्वाचित अध्यक्ष भीम पौडेलले डोजर र एस्क्याइभेटरले खोला सफा गर्न थालिएको बताए । इटहरीको मुख्य चोकमै समस्या हुन थालेपछि आफूहरू खोला सफामा लागेको उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।