खहरेको बाढीले थुम्बेदिन सिनाम सडक खण्ड अवरुद्ध

Share News
असार ३०, ताप्लेजुङ(अस) । ताप्लेजुङको पाथीभरा याङवरक र सिरिजंघा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीले यातायात अवरुद्ध भएको छ । अविरल वर्षापछि गएराति आएको बाढीका कारण थुम्बेदिन सिनाम सडक खण्ड अवरुद्ध बनेको हो । खोलामा बाढी आएपछि आइतवार हप्पुखोला, सिनाम पुगेर फर्कने क्रममा रहेका सवारी साधन सिनामतर्फ नै रोकिएका छन् भने ताप्लेजुङ सदरमुकाम, पाँचथर, झापा लगायतका ठाउँबाट सिनाम, आम्बेगुदिन लगायतका ठाउँमा जाने सवारी साधनसमेत थुम्बेदिनबाटै फर्किएको सिनामका स्थानीय भीम थेबेले जानकारी दिए । बीचैमा सवारी साधन रोकिए पछि यात्रु मारमा परेका छन् । उक्त सडक खण्ड हुँदै दर्जनौं सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । यता सिनाम र आम्बेगुदिनको बीचमा पर्ने नेबु खोला आसपासमा झरेको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । वर्षाकै कारण ग्रामीण क्षेत्रका कच्चि सडक हिलाम्मे बनेको र ठाउँ– ठाउँमा सानातिना पहिरोसमेत झरेकाले यातायात सञ्चालनमा कठिनाई भएको यातायात व्यवसायीले बताएका छन् । ‘केहि दिनदेखि फक्ताङलुङ, दोभान लगायतका ग्रामीण क्षेत्रमा चल्ने सवारी साधन चलाउने व्यवसायीले बेल्चा र कोदालो समेत बाकेर हिंड्ने गरेका छन्, कतिपय बाटामा रहेको अवरोध पन्छाउँदै गन्तब्य सम्म पुगेर फर्किन्छन्’, जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भने । उनले खासगरी ग्रामीण क्षेत्रका नयाँ सडकमा यस्तो समस्या देखिएको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।