एकजनाले निश्चित संख्याभन्दा बढी सिमकार्ड प्रयोग गर्न नपाउने

Share News

युवराज बस्नेत

काठमाडौं । तपाईंसँग मोबाइलका कतिओटा सिम छन् ? नेपाल दूरसञ्चार प्राधिकरण एकजनाले निश्चित संख्याभन्दा बढी सिम प्रयोग गर्न नपाउने व्यवस्था एक महीनाभित्र लागू गराउने तयारीमा जुटेको छ । साथै, एक जनाले निश्चित कम्पनीका सिमकार्ड मात्र प्रयोग गर्न पाउने र एक जनाले लिएको सिम अर्काले प्रयोग गर्न नमिल्ने व्यवस्था गर्ने पनि प्राधिकरणको तयारी छ ।

प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले आर्थिक अभियानसँग कुरा गर्दै भने, ‘यसका लागि हामी एक महीनाभित्र विनियमावली ल्याउने तयारीमा छौं । त्यसपछि एक व्यक्तिले कतिओटा सिमकार्ड चलाउन पाउने, उक्त व्यक्तिले एउटा अपरेटरको मात्र सिम प्रयोग गर्ने कि एकभन्दा बढी अपरेटरको सिम प्रयोग गर्ने भन्ने निश्चित हुनेछ ।’ ‘ई–केवाईसी सिस्टम’ प्रयोग गरी एउटाको नाममा रहेको सिमकार्ड अर्काले प्रयोग गर्न नमिल्ने बनाइने पनि उनले बताए ।

नेपालको जनसंख्या तीन करोड हाराहारी छ । कुल जनसंख्याको ४९ प्रतिशत अर्थात् डेढ करोड हाराहारीले मात्र मोबाइल प्रयोग गर्छन् । तर, प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार हाल देशका तीन ठूला टेलिकम कम्पनीले मात्र चार करोड आठ लाख सिमकार्ड वितरण गरिसकेका छन् ।

हाल ग्राहकले नागरिकता प्रमाणपत्रका आधारमा जतिओटा पनि सिमकार्ड लिन पाउँछन् । सिमकार्ड लिँदा प्रत्येकका लागि छुट्टाछुट्टै फारम भर्नुपर्ने व्यवस्था छ । यसले एउटैको नाममा धेरै सिमकार्ड लिन र त्यसको दुरुपयोग गर्न सजिलो भएको छ । यसको सट्टा अब सेन्ट्रल डाटाबेस तयार पारेर डिजिटल फिंगर प्रिन्ट र डिजिटल तस्वीरका आधारमा सिमकार्ड दिइने योजना छ । यसपछि उक्त समस्या समाधान हुने प्राधिकरणको विश्वास छ । प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, यसका लागि पनि ई–केवाईसी प्रणाली आवश्यक भएको छ ।

एकातिर मोबाइल बैंकिङ, नागरिक एप लगायत असंख्य सुविधाले जनजीवन सहज बन्दै गएको र मोबाइलको उपयोगिता बढ्दै गएको छ भने अर्कातिर मोबाइलकै प्रयोग गरी विभिन्न आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति पनि तीव्र गतिमा बढिरहेको देखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।