प्रदेश १ मा दर्जन स्रष्टा सम्मानित

Share News

विराटनगर (अस) । प्रदेश १ सरकारले मुलुक संघीयतामा गएपछि पहिलोपटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने एक दर्जन स्रष्टालाई नगदसहित सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म जयन्तीको अवसर पारेर सामाजिक विकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गरेको हो ।

प्रदेश राजधानी विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘बालकृष्ण पोखरेल भाषा–साहित्य–कला सम्मान’ यस वर्ष भाषाशास्त्री साहित्यकार प्राडा. टंकप्रसाद न्यौपानेले प्राप्त गरेका छन् । न्यौपानेलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले नगद १ लाख रुपैयाँसहित र सम्मानपत्र प्रदान गरेका थिए । प्रदेश १ मा रहेर हरेक वर्ष भाषा–साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने एकजना स्रष्टालाई प्रदान गर्नेगरी भाषाशास्त्री बालकृष्ण पोखरेलको नाममा सामाजिक विकास मन्त्रालयले पुरस्कारको स्थापना गरेको हो ।

त्यस्तै, इनरुवा सुनसरीका साहित्यकार उपेन्द्र पागल, विराटनगरका सोमराज अभय, झापाकी भवानी क्षेत्री, उदयपुरका राममणि पोखरेल, इलामका विमल वैद्य, तेह्रथुमका रविमान लम्जेललाई नगद रू. ५० हजारसहित प्रदेश साहित्य–कला सम्मानबाट सम्मानित भएका छन् । त्यस्तै, कार्यक्रममा मोरङका मधु पोखरेल, कलाकार भैरव क्षेत्री, विराटनगरका मैथिलीभाषी साहित्यकार रामनारायण सुधाकर, संखुवासभाका मूर्तिकार चन्द्रमान लिंखा, मोरङका संगीतकार जेबी थुलुङ र सुनसरीका कलाकार विष्णुकुमार मोक्तानलाई पनि रू.५० हजार नगदसहित प्रदेश साहित्य–कला सम्मान प्रदान गरिएको थियो ।

मन्त्रालयले साहित्यकार बलराम पोखरेलको संयोजकत्वमा ८ सदस्यीय साहित्यकार–कलाकार सम्मान सिफारिश कार्यदल बनाएको थियो । कार्यदलले दिएको सिफारिशका आधारमा मन्त्रालयले सम्मान गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।