बाढीका कारण भारतबाट आउने मालवाहक सवारीसाधन रोकिए

Share News
असार ३०, विराटनगर(अस) । केही दिनको अविरल वर्षापछि आएको बाढीका कारण भारतको बिहारस्थित मिरगञ्ज पुल प्रभावित भएसंगै शनिवारदेखि मालवाहक ठूला सवारीसाधन नेपाल भित्रिन सकेका छैनन् । विराटनगरस्थित भन्सार कार्यालयका अनुसार बाढीका कारण पुलमा क्षति पुग्न सक्ने जनाउदै भारतीय पक्षले सो पुलबाट ठूला सवारी साधनमा रोक लगाएको हो । भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले गएको शनिवारबाट भारततर्फबाट मालसामान बोकेका कुनै पनि सवारीसाधन नेपालतर्फ नआएको जानकारी दिए । सूचना अधिकृत पौडेलले भने, ‘वर्षा र पुलको अवस्थालाई हेर्दै भारततर्फबाट हाल मिरगञ्ज पुलमा ठूला सवारी साधनमा रोक लगाइएको छ, जसका कारण नेपालतर्फ आयात हुने मालवाहक सवारी र भारततर्फ जाने खाली सवारी समेत ठप्प रहेको छ ।’  शनिवारदेखि हालसम्म कुनै पनि मालवाहक सवारी नेपाल भित्रिन सकेको छैन । नेपाल तथा भारत सरकारको प्राथमिकतामा सो पुल नपरेका कारण उद्योगी व्यवसायीले दैनिक कष्ठ भोग्नु परिरहेको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । यसअघि पनि पटक– पटक सम्बन्धित निकायलाई पुलको विकल्पबारे ध्यानाकर्षण गराउँदासमेत ती निकायबाट कुनै चासो नलिइएको उनको गुनासो छ । महासंघका वरिष्ठ उपाध्यक्ष राउत भन्छन, ‘पुलमा क्षति पुगे पूर्वक्षेत्रका धेरै उद्योग कोल्याप्स हुन्छन्, बन्द हुने अवस्थामा पुग्छन्, त्यसैले पनि यस्तो समस्याको समाधानमा सरकारले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’ अर्कोतर्फ, सुनसरीको भण्टावारीतर्फबाट मालसमान ल्याउदाँ ढुवानी खर्च बढेको उद्योगीहरुले बताएका छन् । सो क्षेत्रबाट मालसामान ल्याउँदा उद्योग सञ्चालनमा कठिनाइ हुने गरेको उनीहरुले बताएका छन् । उद्योगी राउतले भने, ‘उक्त रुटबाट समान ल्याउन धेरै समस्या छ, त्यहाँ हुदै सामान ल्याउन समय बढि लाग्ने र समानको मुल्यबृद्धि समेत हुने गर्दछ ।’ हाल भारतको एकीकृत जाँच चौकी (आइसिपी) मा रहेका केही मालवाहक सवारी भित्रिएको बताएको भन्सार कार्यालयले बाढी र खोलामा पानीको बहाव कम भएपछि मात्र मालवहाक सवारी आउन सक्ने अपेक्षा गरेको छ । दुई वर्ष अघिको भीषण बाढीले क्षतिपुगेको सो पुलबाट पछिल्लो समय ४० टन भार बोकेका सवारी साधन भित्रिने गरेका थिए । त्यसभन्दा बढि तौलसहित मालसामानको सवारीसाधन सुनसरीको भण्टावारी हुँदै भित्रिने गरेको थियो । भारतबाट दैनिक ३०० बढि मालवाहक सवारी साधन भित्रिने गरेको छ । जसबाट दैनिक करीब रू.१५/ १६ करोड राजस्व संकलन हुने गरेको छ । गएको शनिवारबाट सवारीसाधन नभित्रिदाँ राजस्व संकलनमा समेत नोक्सानी भइरहेको भन्सार कार्यालयले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।