बाढीले भारतबाट आउने मालवाहक सवारीसाधनमा अवरोध

Share News
विराटनगर (अस) । भारतको विहारस्थित मीरगञ्ज पुल बाढीले प्रभावित भएसँगै शनिवारदेखि मालवाहक ठूला सवारीसाधन नेपाल भित्रन सकेका छैनन् । विराटनगरस्थित भन्सार कार्यालयका अनुसार बाढीका कारण पुलमा क्षति पुग्न सक्ने बताउँदै भारतीय पक्षले सो पुलबाट ठूला सवारीसाधन नेपाल भित्रिन रोक लगाएको हो । कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले शनिवारदेखि भारततर्फबाट कुनै पनि मालवाहक सवारीसाधन नेपालतर्फ नआएको जानकारी दिए । ‘भारततर्फ जाने खाली सवारीसमेत ठप्प रहेको छ,’ उनले भने । नेपाल र भारत सरकारको प्राथमिकतामा सो पुल नपर्दा उद्योगी व्यवसायीले दैनिक कष्ट भोग्नु परिरहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । यसअघि पनि पटकपटक सम्बन्धित निकायलाई पुलको विकल्पबारे ध्यानाकर्षण गराउँदासमेत कुनै चासो नलिइएको उनको गुनासो छ । ‘पुलमा क्षति पुगे पूर्वक्षेत्रका धेरै उद्योग बन्द हुने अवस्थामा पुग्छन् । त्यसैले पनि यसतर्फ सरकार गम्भीर हुनुपर्छ,’ उनले भने । सुनसरीको भण्टाबारीबाट मालसामान ल्याउँदा ढुवानी खर्च बढ्ने र उद्योग सञ्चालनमा कठिनाइ हुने उद्योगीको भनाइ छ । ‘सो रुटबाट सामान ल्याउँदा समय बढी लाग्ने र सामानको मूल्यवृद्धि समेत हुने गर्दछ,’ राउतले भने । भन्सार कार्यालयले बाढी र खोलामा पानीको बहाव कम भएपछि मात्र मालवाहक सवारी आउन सक्ने अपेक्षा गरेको छ । २ वर्षअघिको भीषण बाढीले क्षति पुगेको सो पुलबाट पछिल्लो समय ४० टनसम्मका सवारीसाधन भित्रिने गरेका थिए । त्यसभन्दा बढी तौलको मालसामानको सवारीसाधन सुनसरीको भण्टाबारी हुँदै भित्रने गरेको थियो । विरानगरमा भारतबाट दैनिक ३ सयभन्दा बढी मालवाहक सवारीसाधन भित्रिने गरेको छ, जसबाट दैनिक करीब १५÷१६ करोड रुपैयाँ राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।