नेपालगञ्ज भन्सार कार्यालय : ११ महीनामा ११ अर्ब २७ करोड राजस्व संकलन

Share News
भक्तबहादुर शाही नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनामा ११ अर्ब २७ करोड २४ लाख ९८ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा १७ करोड ५३ लाख ९८ हजार बढी भएको कार्यालयले बताएको छ । उक्त अवधिमा कार्यालयले ११ अर्ब ९ करोड ७१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ, चामल, आलु, सिमेन्ट, क्लिंकर, औद्योगिक मेशिनरी, कोइलालगायत वस्तुको आयात बढी भएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उक्त अवधिमा रू. २ अर्ब ५९ करोड ३३ लाख २५ हजारबराबरको ३ करोड १३ लाख १२ हजार किलो एलपी ग्यास भित्रिएको छ । यसबाट ४८ करोड ३७ लाख ९८ हजार राजस्व असुली भएको उनले जानकारी दिए । यस्तै करीब रू. १ अर्बबराबरको ६ करोड ३९ लाख ८ हजार किलो कोइला भित्रिएको छ, जसबापत करीब पौने १९ करोड राजस्व असुली भएको छ । साथै रू. ७६ करोडबराबरको १० करोड किलो क्लिंकरबाट करीब ३७ करोड राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षको जेठसम्म १ लाख ५० हजार किलोलिटर डिजेल भित्रिएको छ, जसको मूल्य १० अर्ब ७९ करोड ४७ लाख ९८ हजार रहेको छ । यसबाट २ अर्ब ९३ करोड ६८ लाख ५३ हजार राजस्व संकलन भएको छ । सो अवधिमा रू. २ अर्ब २८ करोड १९ लाख ८९ हजारबराबरको ३५ हजार किलोलिटर पेट्रोल भित्रिएको छ, जसबाट भन्सार कार्यालयले रू. १ अर्ब २६ करोड २४ लाख ४१ हजार राजस्व असुली गरेको छ । नेपालगञ्ज नाका हुँदै आउने सामग्रीमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ हुने गरेको भन्सार कार्यालयले बताएको छ । ११ महीनामा पेट्रोलियम पदार्थ आयातबाट रू. ४ अर्ब ६८ करोड ३० लाख राजस्व संकलन भएको निरौलाले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।