मोरङ (अस) । नेपाल सरकारद्वारा लागू गरिएका भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसीटीएस), पान नम्बरको अनिवार्यता लगायत प्रावधानबारे प्रतिक्रिया लिन बुधवार मोरङ व्यापार संघमा उद्योगी व्यवसायीको बृहत् भेला आयोजना गरिएको छ ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा भएको भेलामा मोरङ–सुनसरी औद्योगिक/व्यावसायिक कोरिडोरका उद्योगी व्यवसायी सहभागी थिए । कार्यक्रममा संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारबाट लागू भएका प्रावधानमाथि सबैको प्रतिक्रिया संकलन गरी ठोस कदम चाल्ने अभिप्रायले बृहत् भेला आयोजना गरिएको बताए ।
भेलाले सरकारबाट ल्याइएका प्रावधान लागू गर्न समय दिनुपर्ने एवम् चरणबद्ध रूपमा लागू गरिनुपर्र्नेे, सूचना प्रविधिको कठिनाइले उद्योगी–व्यवसायीलाई मर्का पार्न नहुने, पान नम्बरको अनिवार्यतालाई लचिलो बनाउनुपर्ने, मु.अ.कर फिर्तामा कुनै जटिलता ल्याउनु नहुने, बैंक र बीमा कम्पनीको सिन्डीकेट अन्त्य गरिनुपर्ने, उच्चस्तरीय कार्यदल समितिले बुझाएको प्रतिवेदनका माग अविलम्ब पूरा गरिनुपर्ने आदि विभिन्न माग राखी सरकार समक्ष पहल गर्ने, ज्ञापनपत्र बुझाउने एवम् आवश्यक परे आन्दोलनमा समेत उत्रने निष्कर्ष निकालेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।