साउन २, पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँग्रेभिरमा बुधवार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए ।
सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उनले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन दिनभर लाग्ने उनको भनाइ छ ।
यो राजमार्गबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।